राजनीतिभन्दा चलचित्र क्षेत्र बुझ्न गाह्रो रहेछ

तस्बिरः बाह्रखरी

नेपालको पहिलो नायिका हुन् भुवन चन्द । नाटक हुँदै चलचित्रको यात्रा गरेकी भुवनले त्यतिबेलादेखि अभिनय गर्न थालिन् जुन उनलाई आज थोरै मात्रै याद छ । चार वर्षको उमेरबाट अभिनय सुरु गरेकी उनले वि.सं. २०२१ सालमा चलचित्र ‘आमा’ मा अभिनय गरिन् । जुन नेपाली रजतपटको इतिहासमा पहिलो चलचित्रका रुपमा दर्ज हुन पुग्यो । 

रेडियो नेपालमा गीत गाउँदासमेत परिवार तथा समाजले नसहने उमेर चलचित्रमा छमछमी नाच्न पुगेकी भुवनले ‘आमा’ पछि ‘हिजो आज भोली’, ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जिवन रेखा’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरिन् । नेपाली चलचित्रले आधा शताब्दी यात्रा गर्दा उनी अहिले निर्माणमा जुटेकी छन् । ‘साइनो’ मार्फत उनी चलचित्र निर्माणमा उत्रिएकी हुन् । भुवनको निर्माण रहेको रमेश थापा निर्देशित चलचित्र ‘साइनो’ यही साउन २४ बाट प्रदर्शन हुँँदैछ । पछिल्ला वर्षका चलचित्रमा कमजोर कथा रहने गरेको आलोचना गर्दै आएकी उनी समयक्रमसँगै प्रविधिले फड्को मारे पनि कथा वाचनमा भने नेपाली चलचित्र झन कमजोर हुँदै गएपछि आफू चलचित्र निर्माणमा आएको बताउने भुवनसँग ‘साइनो’ सँगै समग्र चलचित्र क्षेत्रका विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि वर्षा महर्जनले गरेको कुराकानी :  

० ० ०
तपाईँ नेपालकै पहिलो नायिका, अहिले निर्मात्रीका रुपमा अगाडि आउँदै हुनुहुन्छ । किन निर्माणतर्फ आकर्षित हुनुभयो ? 

मलाई केही समय यता बनेका नेपाली चलचित्रहरु त्यति धेरै राम्रो लागिरहेको छैन । दोस्रो कुरा मैले आफनो केही भाइहरु मिलेर चन्द्रविनायक प्रोडक्सन हाउस खोलेका छौं । यसबाट हामीले थुपै सर्ट फिल्म र म्युजिक भिडियोहरु बनाइरहेका थियौं । हामीबीच चलचित्र निर्माण गरौं न त भन्ने कुरा भयो । त्यसैले नेपालीपन झल्कने चलचित्र ‘साइनो’ बनाएका हौं । पहिला  चलचित्रमा कथा हुन्थ्यो । त्यस्ता कथामा कलाकारले आफनो अभिनय देखाउँदा अभिनयभन्दा पनि स्वाभाविक लाग्थ्यो । तर, अहिलेका चलचित्रहरुमा त्यो पाइँदैन । 

अभिनय सजिलो रहेछ कि निर्माण ? 

अरुका चलचित्रमा अभिनय गरिन्थ्यो मात्रै । तर, आफ्नै लगानी गरेर प्रोडक्सनमा लाग्दा त गाह्रो हुनेरहेछ । अभिनयभन्दा निर्माण गर्न कठिन हुनेरहेछ । 

निर्माताले त लगानी मात्रै गर्ने होइन र कसरी गाह्रो हुन्छ ?

कति निर्माताले पैसा मात्रै लगानी गर्छन्, चलचित्रको निर्माण चरणमा सहभागी हुँदैनन् । व्यवस्थापनको काम अरुले नै हेर्दा निर्मातालाई गाह्रो हुँदैन । तर, मैले चलचित्र क्षेत्रमै काम गरेको हुनाले र यो (साइनो) पहिलोपटक निर्माण गरेका कारण राम्रो चलचित्र बनाएर दर्शक तथा समीक्षक सामु पु¥याउन खोजिरहेको छु । 
त्यसैले क्यामेरादेखि लिएर कलाकारको पहिरनसम्म सबैमा आफैँ लागिरहेको छु । भुवन दिदीको चिलचित्र कस्तो होला भन्ने पनि हुन्छ । त्यहीकारण पनि म निर्माता सँगसँगै निर्देशकलाई पनि सहयोग गरिरहेको छु । 

‘साइनो’ कस्तो चलचित्र हो ? 

मैले नेपाली मौलिक चलचित्र बनाएको छु । समाजमा भएका कति जातजातिलाई देखाउन खोजेको छु । ‘ग्ल्यामर’ पनि नचाहिने होइन समय अनुसार चाहिन्छ । तर, मैले यसमा हाम्रो नेपाली समाजले पाउन सक्ने जति मात्रै ‘ग्ल्यामर’ राखेको छु । चलचित्रमा हाँसो, रोदन, प्रेम, द्वन्द्वसबै समेटेर पूर्ण चलचित्र बनाउने प्रयास गरेको छु । 

प्रकाशित मिति: : 2019-07-30 10:58:25

प्रतिकृया दिनुहोस्