एड्सबाट हुने मृत्युको संख्या एक तिहाईले घट्यो

तस्बिरः एजेन्सी

एचआइभी एड्सले अघिल्लो वर्ष सात लाख ७० हजारको ज्यान लियो।

सन् २०१० को तुलनामा एचआइभीकै कारण ज्यान गुमाउनेको संख्या ३३ प्रतिशत कम भएको र लगानी पनि घट्दै गएकाले रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयास सुस्त हुँदै गएको संयुक्त राष्ट्र संघले जनाएको छ।

विश्वमा अहिले करिब तीन करोड ७९ लाख मानिस एचआइभी संक्रमित छन्। तीमध्ये दुई करोड ३३ लाखले मात्रै एन्टिरेट्रोभाइरल थेरापी पाइरहेको युएनएड्सको वार्षिक प्रतिवेदनमा जनाइएको छ।

सन् ९० को मध्यताका एड्सको महामारी शिखरमा थियो। त्यसयता ठूलो प्रगति भएको प्रतिवेदनमा उल्लेख छ। सन् २०१७ मा एड्सले ८ लाखको ज्यान लियो। अघिल्लो वर्ष सात लाख ७० हजारले एड्सका कारण ज्यान गुमाए। सन् २०१० को तुलनामा यसरी मृत्यु हुनेको संख्या एक तिहाइले घटेको छ। त्यतिबेला एड्सले १२ लाखको ज्यान लियो।

प्रतिवेदनमा एड्सविरूद्ध भएका संघर्षको कमीकमजोरी पनि औंल्याइएका छन्। अफ्रिका एड्सबाट सबैभन्दा धेरै प्रभावित महादेश हो।  यो दशकमा एड्ससम्बन्धी मृत्यु अफ्रिकामा घटेको छ। तर युरोपमा पाँच प्रतिशत, मध्यपूर्व र उत्तर अफ्रिकामा ९ प्रतिशत वृद्धि भएको छ। प्रति वर्ष अनुपातमा त्यही क्षेत्रमा क्रमश: २९ र १० प्रतिशतले नयाँ संक्रमितको संख्या बढेको छ।

‘एड्स अन्त्य गर्न बलियो राजनीतिक नेतृत्व तत्काल आवश्यक छ,’ युएनएड्सका कार्यकारी निर्देशक गनिला कार्लसनले बताइन्। ‘रोगको साटो मानिसमा केन्द्रित भयौं भने एड्सको अन्त्य सम्भव छ। एचआइभीबाट सबैभन्दा धेरै प्रभावित मानिससम्म पुग्नलाई मानवअधिकारमा आधारित पद्धति अपनाउनुपर्छ।’

एचआइभी भाइरसको उपचार वा खोपबारे अनुसन्धान सुरू भएको दशकौं भइसक्यो। समाधान अझै पत्ता लागेको छैन। सन् १९८० को सुरूदेखि झण्डै आठ करोड संक्रमित भएका छन्। तीन करोड ५० लाखभन्दा धेरैको ज्यान गएको छ।

विश्वको आधाभन्दा धेरै नयाँ संक्रमण सुईंबाट लागुऔषध प्रयोग गर्ने व्यक्ति, समलिङ्गी पुरूष, पारलिङ्गी, यौनकर्मी र कैदीबन्दीलाई हुने संयुक्त राष्ट्र संघले जनाएको छ। यसबाहेक जोखिममा रहेको यो जनसंख्यामध्ये ५० प्रतिशतभन्दा कमलाई आधाभन्दा धेरै देशमा एचआइभी रोकथाम सेवा उपलब्ध छ।

युएनएड्सका स्ट्रयाटजिक इन्फोर्मेसन डाइरेक्टर पिटर गिसले सन् २०१० यता नयाँ संक्रमण १६ प्रतिशतले घटेको र आउने वर्षसम्म नयाँ संक्रमणलाई ७५ प्रतिशतले घटाउने विश्वव्यापी लक्ष्य टाढा रहेको उनले बताए। ‘तय गरिएको लक्ष्य पूरा गर्न घटना न्युनिकरणको गति अत्यन्तै सुस्त छ’ उनले बताए।

प्रकाशित मिति: : 2019-07-25 08:02:31

प्रतिकृया दिनुहोस्