म सडकमा हुँदा धेरैको नजर मैमाथि हुन्छ

तस्बिरः सेतोपाटी

रानीवन बस्ने सुशीला गुरूङ बिहान चारै बजे उठ्छिन्।

नित्यकर्म सकेर घुइँय्य सुजुकीको भ्यान स्टार्ट गर्छिन्। उनको गन्तव्य कहिले बल्खु, कहिले कालिमाटी।

बल्खु-कालिमाटी बजारबाट तरकारी ल्याएर रानीवनकै एउटा पसलमा छोड्छिन्। एकछिन त्यही पसलमा सघाउँछिन्। पहिले यहाँ उनले करिब चार वर्ष काम गरेकी थिइन्। त्यही सम्बन्धले यहाँ काम सघाउन मन लाग्ने सुशीला बताउँछिन्।

यसपछि सुरू हुन्छ उनको दैनिकी।

भ्यानका स्टेरिङमा दिनभर आफ्ना हात घुमाएर विभिन्न ठाउँ ओहोरदोहोर गरिरहन्छिन्। फुर्सदै हुँदैन। कहिले तरकारी त कहिले घरका सामान, ओसार्ने-पुर्‍याउने चलिनैरहन्छ दिनभर।

आइतबार हामी रानीवन पुग्दा पनि सुशीला घरका सामान ओसार्दै थिइन्। गाडीमा सामान हाल्नेदेखि झार्नेसम्मका सबै काम उनी एक्लै गर्छिन्। चालक पनि आफैं, सहचालक पनि आफैं, भ्यान पनि आफ्नै।

सुशीलाको यो 'भ्यान यात्रा' यतिकै तय भएको होइन। 

उनको घर धादिङ हो। दुई महिनाकी छँदा बुबा गुमाइन्। सात वर्षको उमेरमा आमाले छाडेर गइन्। उनलाई ठूलोबा र ठूलीआमाले हुर्काए। सुशीलाका तीन दिदी छन्।

२०७० सालमा एसएलसी पास गरेर धादिङबाट काठमाडौं आएसँगै उनको पढाइ यात्रा रोकियो। पढाइभन्दा आवश्यकता जीवन धान्नु थियो।

काठमाडौं आएदेखि नै उनले रानीवनको तरकारी तथा फलफूल पसलमा काम गर्न थालिन्। पसलकै गाडी सिकिन् र चलाउन सक्ने भइन्। सामान ओसारेर ल्याउन-दिन सक्ने भएपछि आफैं गाडी किन्ने निधो गरिन्।

'पढेको भए त सक्थेँ होला। तर पढाइभन्दा केही काम गर्नुपर्छ भन्ने भयो,' सुशीलाले भनिन्, 'मेरो घरमा पैसा कसैलाई पठाउन पर्दैन। कमाएको सबै पैसा बचत गरेँ। साहुहरूले पनि थपिदिएपछि मैले गाडी किनेँ।'

सुशीलाले भ्यान गत चैतमा किनेकी हुन्। यसले उनलाई राम्रै कमाइ गर्न सघाएको छ। आत्मनिर्भर भएपछि सन्तुष्टि दिएको छ।

'सडकमा हिँड्दा मज्जा पनि आएको छ,' २३ वर्षीया सुशीलाले भनिन्, 'धेरैको नजर ममाथि हुन्छ। भर्खरका केटाहरूले नजर जुधाउँछन्। यसो जिस्काउँछन्। म पनि के कम, मुसुक्क हाँस्दिन्छु। काममा हिँडेको मान्छे, केही भन्न मिलेन।'

सुशीलाले थपिन् ,'वयष्कहरूले भने राम्रो गरेकी छौ नानी भन्छन्। सबैले हौसला दिन्छन्। मलाई पनि ऊर्जा मिल्छ।'

प्रकाशित मिति: : 2019-07-24 08:02:03

प्रतिकृया दिनुहोस्