चिनियाँ कम्पनीलाई २२ सय बिगाहा जग्गा दिने प्रस्ताव मन्त्रिपरिषदमा

चिनियाँ एक कम्पनीलाई महोत्तरीमा २२ सय बिगाहा जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा महोत्तरीमा हाइ टेक औद्योगिक पार्क निर्माण परियोजनाको प्रस्ताव लगेको हो । मन्त्री मातृकाप्रसाद यादवले प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको बाह्रखरीलाई जानकारी दिए ।

तर, प्रस्तावमा छलफल भने नभएको बताए । यसअघि महोत्तरीको गौशाला नगरपालिकाले गरेको द्विपक्षीय सम्झौता खारेज भएको थियो ।  महोत्तरीको गौशाला नगरपालिकाको वडा नं ८ मा २२ सय बिगाहा जग्गामा हाइ टेक औद्योगिक पार्क निर्माण गर्ने मन्त्रालयको योजना छ ।  गौशाला नगरपालिकाले औद्योगिक क्षेत्र घोषणा गरि पाउँ भन्दै गत फागुन २३ गते मन्त्रालयमा निवेदन दिएपछि परियोजनाको प्रक्रिया मन्त्रालयले अगाडि बढाएको थियो । तर यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी नगराइएको उनी निकट स्रोतले बताएको छ । पूर्वमा रामनगर, पश्चिम टुटेश्वर चौकबाट दक्षिण आउने बाटो ढल्केबर, उत्तर वनको फारल्याण्ड र दक्षिण सीमा बेलगाछी बजार (खाल्टेबजार) सम्मको क्षेत्रमा परियोजना बन्नेछ ।  तर भारतीय सीमा नजिकै बन्न लागेको यो परियोजना विशेष चासोका साथ हेरिएको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।

फागुन २९ गते गौशाला नगरपालिकामा प्रस्तावित औद्योगिक क्षेत्रको स्थलगत प्रतिवेदन तयार गर्न भन्दै ३ सदस्यीय टोली गठन गरिएको थियो ।  जसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका इन्जिनियर शंकरसिंह धामी, योजना तथा विकास महाशाखाका नापी सर्भेक्षक भास्कर खतिवडा र महाशाखाका इन्जिनियर अमृत शाही थिए । टोलीले गत चैत २ गते प्रतिवेदन तयार गरेको थियो ।

त्यसअघि चैत ३० गते मेयर महतो र प्रदेश सांसद भरत शाहसहित काठमाडौंबाट खटिएको टोली, वडा नं ८ का वडा अध्यक्ष भोजबहादुर दर्लामीसहितको बैठकले औद्योगिक क्षेत्र घोषणाका लागि यथाशिघ्र रिपोर्ट पेस गर्ने निर्णय गरेको थियो । गत चैत ३ गते भ्रमण प्रतिवेदन योजना तथा विकास विभागले स्वीकृतीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो । सोही प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको हो । 

यसअघि स्थानीय तह महोत्तरीको गौशाला नगरपालिकाले चिनियाँ कम्पनीलाई परियोजना निर्माणका लागि दिने सम्झौता गरेको थियो । यसअघि स्थानीय तहसँग भएको सम्झौताकै प्रस्ताव मन्त्रिपरिषद्मा लगेको बताइएको छ ।

किन रद्ध भएको थियो स्थानीय तहसँगको सम्झौता ?

महोत्तरीको गौशाला नगरपालिकाको वडा नं ८ मा २२ सय बिगाहा जग्गामा हाइ टेक औद्योगिक पार्क निर्माण गर्ने गरी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना अन्तर्गत गत पुस १७ गते चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो ।  तर, स्थानीय तहलाई विदेशी कम्पनीसँग सम्झौता गर्ने अधिकार नभएको भन्दै मन्त्रालयले नै रद्ध गर्न निर्देशन दिएको थियो ।

सम्झौता गर्ने मेयर शिवनाथ महतोले मन्त्रालयकै सहमतिमा सम्झौता गरेको बताएका थिए ।  गत पुस १७ गते (१ जनवरी २०१९) गौशाला नगरपालिकाका मेयर महतो र चीनको तर्फबाट सान्सी दि शेङ्ग टाइम एग्रिकल्चरल टेक्नोलोजी कम्पनी लिमिटेडले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

 

प्रकाशित मिति: : 2019-07-23 21:45:15

प्रतिकृया दिनुहोस्