समयमै काम नगर्ने ६ वटा ठेकेदार कम्पनीको ठेक्का रद्द

वीरगञ्‍ज– लामो समयसम्म आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारहरुलाई जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही गर्ने भएको छ।

पटक–पटक ताकेता गर्दा पनि ठेक्का सकार गरेर समयमै काम नगर्ने पर्सा, बारा र रौतहट जिल्लाको विभिन्‍न ६ वटा ठेकेदार कम्पनीसितको ठेक्‍का रद्द गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत पर्सा बारा र रौतहटमा ठेक्‍का सकार गरे तापनि समयमा काम नगरेकोले ६ वटा आयोजनाको ठेक्का तोडिएको सघन शहरी तथा भवन निर्माण आयोजना वीरगञ्जका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए।

सघन शहरी तथा भवन निर्माण आयोजना वीरगञ्जले पर्सा बारा र रौतहट गरी ३ जिल्लामा काम गर्दै आएको छ। ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्ने पर्साको कालिकामाई गाउँपालिकाको भेडिहारी उपस्वास्थ्य चौकी भवन, जिराभवानी गाउँपालिकाको शंकर सरैया स्वास्थ्य चौकी भवन, सम्भौता स्वाथय चौकी भवन, पटेर्वा सुगौलीको स्वास्थय चौकी भवन, रौतहटको जिगडवाको स्वास्थ्य चौकी भवन र बारा कलैयाको स्वास्थ्य कर्मचारीको आवास निर्माणको ठेक्का तोडिएको प्रमुख खतिवडाले बताए।

ती ६ वटै आयोजनाको काम सकार गरेका ठेकेदार कम्पनीले लामो समयसम्म पनि स्वास्थ्य चौकीका भवनहरु निर्माण गर्न नसकेको तथा पटक–पटक ताकेता गर्दा पनि निर्माण कार्यमा ढिलाई गर्दै आएको ठेक्का रद्द गरिएको हो। कालिकामाई गाउँपालिकाको भेडिहारीमा स्वास्थ्य चौकी निर्माण गर्न २०६८ सालमा स्वस्तिक श्रीविनायक कन्स्ट्रक्शनले ठेक्का पाएको थियो।

यस्तै अजम्बर र शिवराम कन्स्ट्रक्शन जेभीले जिराभवानी गाउँपालिकाको शङ्कर सरैया स्वास्थ्य चौकी पटेर्वासुगौली स्वास्थ्य चौकीको भवन निर्माण र रौतहटको जिंगडा बेलगछिया स्वास्थय चौकीको भवन निर्माण गर्ने ठेक्का सकार गरेको थियो।

सम्झाैता स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का शिवराम कन्स्ट्रक्शन प्रालिले पाएको थियो। बाराको कलैयामा स्टाफ क्वार्टर निर्माण ठेक्का टौदह कन्स्ट्रक्शनले सकार गरेको थियो।ठेक्का रद्द गरेसँगै उक्त ठेकेदार कम्पनीसित २ करोड ८० हजार हर्जाना असुल गर्ने पत्राचारसमेत गरेको कार्यालय, प्रमुख खतिवडाले जानकारी दिए।

पर्सा जिल्लामा विकास निर्माणको ठेक्का साकार गरि लामो समयसम्म पनि काम सम्पन्न नगर्ने ठेकेदारहरुसँग आउने दिनमा पनि ठेक्का लगाएको सम्बन्धित कार्यालयसँग  समन्वय गरि कारबाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए।

 

प्रकाशित मिति: : 2019-07-11 15:44:57

प्रतिकृया दिनुहोस्