देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरोबाट सतर्क रहन आग्रह

बाढी पूर्वानुमान महाशाखाले अहिले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको उल्लेख गर्दै बाढीपहिरोबाट सतर्क रहन आह्वान गरेको छ।

महाशाखाले आफ्नो ट्विट अकाउन्टमार्फत सूचना जारी गर्दै पूर्व, मध्य र पश्चिमका विभिन्न जिल्लामा अहिले भारी वर्षा भइरहेकाले उक्त क्षेत्रका नदी खोलाहरूमा आकस्मिक बाढी तथा बहाव बढ्ने सम्भावना उच्च रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल इलाम, सोक्तिम, कन्याम, जितपुरलगायत अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। तसर्थ कन्काई नदीलगायत झापा भई बग्ने मेची, विरिङ, निन्दा र साना नदीहरूमा आज मध्याह्नसम्म आकस्मिक बहावको उच्च सम्भावना छ। महाशाखाले भनेको छ– ‘राजमार्गमा यात्रा गर्दा बाढीपहिरो जानसक्छ सतर्क रहौं।’

यस्तै हाल कञ्चनपुर, कैलाली, डोटी,अछाम, दैलेख,सुर्खेत, सल्यान, प्युठान, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, नवलपरासी, चितवन, मोरङका धेरै तथा प्रदेश २ का केही स्थानमा मध्यमरभारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

ती स्थानका साना खोलाहरूमा आकस्मिक बहावको उच्च सम्भावना रहेकाले होसियारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशका धेरै स्थानमा वर्षा जारी रहने जनाएको छ।

देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रही देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2019-07-09 10:10:57

प्रतिकृया दिनुहोस्