रातो मछिन्द्रनाथको दु:ख: जात्रा सकिएको सन्देश पाताल पुर्‍याउन पोखरीमा खाल्डो खनेर छाडियो माछा

तस्बिरः पहिलो पोष्ट

ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिनद्रनाथ) को रथयात्रा जेठ २६ गते सकिएको थियो।

त्यस दिन जावलाखेलमा भोटोजात्रा पछि रातो मछिन्द्रनाथको मूर्तिलाई छ्वाली बालेर बुंगमतीमा विराजमान गरिन्छ। मानिसहरु मूर्तिलाई बुंगमती पुर्‍याएसँगै रातो मछिन्द्रनाथको जात्रा समापन भएको ठान्छन्। तर, त्यसो होइन।    

त्यस दिन रातो मछिन्द्रनाथको रथयात्रा मात्रै सकिएको हो। तान्त्रिक विधिबाट जात्राको औपचारिक समापन आज मात्रै भयो।

साइत अनुसार आज बिहान ११ बजेदेखि लगनखेलमा रहेको बटुक भैरव मन्दिरमा रातो मछिन्द्रनाथका पानेजु (पुजारी) हरुले तान्त्रिक विधिमा पूजा गर्न व्यस्त थिए। उनीहरुले त्यहाँ मछिन्द्रनाथको जात्रा समापन भएको सूचना इन्द्रलोक र  यमलोक (पाताल) पठाउनका लागि बौद्ध तान्त्रिक विधिबाट मासाहुती यज्ञ गरेका थिए।

यज्ञ समापन भएपछि पानेजुहरुले एक जोडी भंगेरा उडाए। भंगेराले स्वर्गमा इन्द्र देवतालाई गएर रातो मछिन्द्रनाथको जात्रा समापन भएको सन्देश प्रवाह गर्ने जनविश्वास रहेको छ।

त्यसपछि रातो कपडा लगाएका एक पानेजुले एक जोडी माछा रहेको पहेंलो बाल्टिन हातमा लिए र सप्तपाताल पोखरी तिर लागे। सप्तपाताल पोखरीमा छोडिएको एक जोर माछाले पातालमा रहेको नाग देवताकहाँ जात्रा समापन भएको सन्देश पुर्‍याउने मान्यता छ।

प्रकाशित मिति: : 2019-07-07 08:25:38

प्रतिकृया दिनुहोस्