पञ्चायतकालमै शुरु भएको सिँचाइ योजना अझै अधुरै

बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन।

पञ्चायत कालपछि बहुदलीय प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य अभावको समस्या झेल्दै आएका बारेकोटवासीको आफै अन्न फलाउने सपना अधुरै छ।

उक्त सिँचाइ योजना पूरा नभएपछि नेपाल खाद्य संस्थानको नायकबाडाघाट खाद्य डिपोका भरमा बारेकोटवासीले जीवन निर्वाह गर्नु परेको छ। पञ्चायतकालमा निर्माणकार्य शुरु गरेको उक्त योजना हालसम्म पूरा हुनसकेको छैन। बजेट अभाव र निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीको लापरवाहीले उक्त योजना अलपत्र परेको हो।

तत्कालीन नायकबाडा पञ्चायत वडा नं १, ३, ६ र ७ को खेतीयोग्य जमीनमा सिँचाइ गर्ने उद्देश्यले योजनाको निर्माण शुरु भएको थियो। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंहको पहलमा योजनाको निर्माणकार्य शुरु भएको थियो। नायकबाडा सिँचाइ योजना निर्माणका क्रममा दर्जन ठेकेदार बदलिएको बारेकोट गाउँपालिका–५ का वडाध्यक्ष अजवीर सिंहले बताए।  

तत्कालीन जिल्ला विकास समिति, सिँचाइ कार्यालयलगायत निकायबाट दुई÷तीन वर्षको अवधिमा बोलपत्र हुने र ठेकेदार बदलिने तर, निर्माणकार्यले गति नलिने गरेपछि योजना अलपत्र परेको उनले जानकारी दिए। उनले भने,“बारेकोट–४ स्थित दह खोलाबाट पानी ल्याएर मैना, पाखा, गैरीगाउँ, साउबाडा, भैलोखान, तोलखान, घाटलगायतका स्थानको २०० हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ गर्ने योजनाको लक्ष्य रहेको थियो।”

योजनाको ६ किलोमिटर लम्बाई कुलोमध्ये ६० प्रतिशत ट्याक खोल्नेकार्य पूरा भइसकेको छ। कुलोको बीचमा निर्माण नहुँदा समस्या उत्पन्न भएको छ। झण्डै ४० वर्षको अवधिमा उक्त योजनामा रु १२ करोड भन्दा बढी खर्च भइसकेको छ। समयमा कुलो निर्माण नहुँदा र सिँचाइ अभावले वडा नम्बर ४ र ५ का बासिन्दाको खेतीयोग्य जमीन बाँझो छ। सिँचाइ अभावमा बारेकोट क्षेत्रमा उत्पादन न्यून भई वर्षेनी खाद्य अभाव हुने गरेको छ। 

प्रकाशित मिति: : 2019-06-09 10:38:07

प्रतिकृया दिनुहोस्