ओलीको युरोप भ्रमण: फ्रान्सको कम्पनीसँग नेपालको भू-उपग्रह राख्ने सम्झौता होला कि नहोला

तस्बिरः एजेन्सी

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणमा फ्रान्सको एउटा कम्पनीसँग नेपालको भू-उपग्रहबारे सम्झौता हुनसक्ने अधिकारीहरूले बताएका छन्।

सरकारको मुखपत्र गोरखापत्र दैनिकले सोमवार लेखे अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले उक्त सम्झौतापत्रको खाका तयार पारिरहेको छ।

गत फागुनमा फ्रान्सको टालेस अलेनिया स्पेससँग अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) बाट पाएको आफ्नो 'अर्बिटल स्लट'मा भू-उपग्रह राख्ने विषयमा आशयपत्रमा नेपालले हस्ताक्षर गरेको थियो।

प्रम ओलीले जेठ २६ गतेदेखि युरोप भ्रमण गर्ने कार्यक्रम रहेको छ।

के भन्छन् अधिकारीहरू?

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको गत फागुनमा फ्रान्स भ्रमणका क्रममा प्राधिकरण र उक्त कम्पनीबीच भएको समझदारी अनुसार आगामी सम्झौता हुन लागेको अधिकारीहरूले बताएका छन्।

थप सम्झौताका लागि छलफल गर्न टालेस अलेनिया स्पेसको एउटा टोली हाल नेपालमा रहेको गोरखापत्रले जनाएको छ।

सरकारी अधिकारीहरूले भने प्रधानमन्त्रीको भ्रमणका बेला थप सम्झौता हुने वा नहुने बारे खुलाउन चाहेनन्।

सञ्चार तथा सूचन प्रविधि मन्त्रालयको फ्रिक्वेन्सी महाशाखा हेर्ने सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले भने, "आशयपत्रमा हस्ताक्षर भएपछि छलफलहरू अगाडि बढेका छन्।"

"तर अहिले हामी प्रारम्भिक अवस्थामा नै रहेकाले प्रधानमन्त्रीको भ्रमणका बेला सम्झौता हुने वा नहुने विषयमा भन्न सकिँदैन।"

दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरूषोत्तम खनालले नेपालले द्विपक्षीय समझदारीमा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताए।

तर उक्त सम्झौता प्रधानमन्त्रीको युरोप भ्रमणमा हुने वा नहुने बारे भने उनले बताउन चाहेनन्।

प्रकाशित मिति: : 2019-06-03 16:57:35

प्रतिकृया दिनुहोस्