बन्द हुनै लागेको स्कुललाई पुनर्जीवन दिने ‘डाक्टर’

उज्यालो

गोरखाकाे ऐतिहासिक लिगलिगकोटको काखैमा छ, सगरमाथा स्कुल । स्कुलको आँगनबाटै देखिन्छ, माथितिर लिगलिगकोटमा फहराइरहेको ठूलो झण्डा र तल बेसींतिर चेपे र मर्स्याङ्दी नदी किनारका ठूल्ठूला टार । सिरसिर हावा चलिरहने पारिलो राउतेपानी डाँडामा यो स्कुल खुलेको ५२ वर्ष पूरा भयो । 

जसरी यो वर्षको अवधिमा मर्स्याङ्दी र चेपेमा थुप्रै पानी बगे, यो स्कुलले पनि थुप्रै आरोह अवरोह झेल्यो । यही स्कुलमा पढेका सात जना पूर्व विद्यार्थीले विद्यावारिधी गरेका छन् । कयौँले इञ्जिनियरिङ गरिरहेका छन्, त्यति नै हाराहारीमा पूर्व विद्यार्थी सरकारी सेवामा छन् । तर गर्विलो इतिहास बोकेर उभिएको यो स्कुलको पछिल्ला वर्षहरु भने सुखद् हुन सकेन । छेउछाउमा निजी विद्यालयहरु खुल्न थालेपछि विद्यार्थी संख्या घट्दै जान थाल्यो । हुँदाहुँदा पछिल्लो शैक्षिक सत्रमा त पाँच कक्षासम्म पढाइ हुने यो स्कुलमा विद्यार्थी संख्या पनि पाँचमै झर्‍यो । 

यही अवस्थालाई देखेर पालुङटार नगरपालिकाले कम विद्यार्थी भएका स्कुललाई नजिकको अर्को स्कुलमा गाभ्ने योजना अघि सार्‍यो । नगरपालिकाले गाभ्नुपर्ने भनेर सूचीकरण गरेका १० विद्यालयको पहिलो क्रममा सगरमाथा स्कुल पनि थियो । आफैँले दुःखसुख गरेर स्थापना गरेको विद्यालय अर्को कुनै विद्यालयमा गाभिने कुराले अभिभावकहरुलाई झस्कायो, तर गाभ्नु हुँदैन भन्ने बलियो आधार पनि थिएन । 

यही पृष्ठभूमीमा विद्यालयले गएको फागुन ६ गते अभिभावक भेला बोलायो । ‘भेलाले स्कुल मर्ज गर्ने नगरपालिकाको निर्णयलाई अनुमोदन गर्ने थियो’ व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङ भन्नुहुन्छ, ‘तर डाक्टर लक्ष्मीप्रसाद देवकोटा सरसहितले पहल गरेपछि स्कुल गाभिनबाट त रोकियो नै, स्कुलको कथा नै अर्को भयो ।’ 

डाक्टर लक्ष्मीप्रसाद देवकोटालाई धेरै कोणबाट चिन्न सकिन्छ, सारमा चाहिँ उहाँ जलस्रोतविद् । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुरुको चार वर्ष आयोजना विकास समितिको अध्यक्ष रहनुभएका देवकोटा पनि यही सगरमाथा स्कुलका पूर्व विद्यार्थी हुनुहुन्छ । स्कुल समायोजन हुन लागेको र फागुन ६ गते अभिभावक भेला बोलाइएको खबर काठमाण्डौमा रहनुभएका देवकोटासम्म पुग्यो । 

‘६ गते अभिभावक भेलाको दिन म पनि गाउँ आएँ, त्यसअघि स्कुललाई कसरी जोगाउन सकिन्छ भनेर काठमाण्डौमै अरु साथीहरुसँग पनि छलफल भयो’ स्कुल परिसरमै उज्यालोसँग कुरा गर्दै देवकोटाले भन्नुभयो, ‘साथीहरुले मिलेसम्म स्कुललाई जोगाउने म्याण्डेट दिएर मलाई गाउँ पठाउनुभयो ।’ नगरपालिकाले विद्यार्थी संख्या २० भन्दा बढी भएमा समायोजन हुनबाट रोक्न सकिने बतायो । 

प्रकाशित मिति: : 2019-06-03 10:46:17

प्रतिकृया दिनुहोस्