००७ सालमा देशवासीको नाममा सम्बोधन गर्दा त्रिभुवनले जनतालाई ‘रैती दुनियाँ’ भनेका थिए । ०१७ सालमा महेन्द्रले ‘प्रजा’ भनी सम्बोधन गरे । वीरेन्द्रले ‘देशवासीहरू’ भने । ज्ञानेन्द्रले गद्दी छाड्ने वेला ‘नेपाली दाजुभाइ दिदीबहिनी’ भने । अहिले नयाँ संविधानको प्रस्तावनामा लेखिएको छ– हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता । संविधानमा लेखिएजस्तै के अहिले हामी सार्वभौमसत्तासम्पन्न नागरिक हौँ त ? कि त्रिभुवनले भनेझैँ ‘रैती दुनियाँ’कै हैसियतमा छौँ ? यसबारे ‘झन् नयाँ’ले बहस सुरु गरेको छ । यसपटक बहसमा प्रोफेसर अरुण गुप्तो छन् । गुप्तो ‘गडेसेज अफ काठमान्डु भ्याली : ग्रेस, रेज, नलेज’का लेखक हुन् । गुप्तोसँग राजु स्याङ्तानले गरेको कुराकानीको अंशः
‘प्रजा’ शब्दलाई अंग्रेजीको ‘सब्जेक्ट’सँग जोड्न सकिन्छ । राजाको प्रजा, सामन्तको प्रजाले ‘निर्देशित’, ‘निर्धारित’ बुझाउँछ । ‘प्रज’ शब्दलाई चाहिँ संस्कृतमा लोग्ने पनि भनिन्थ्यो । र, प्रजालाई कोखको अर्थमा बुझिन्थ्यो । यसको अर्थ वीर्य पनि थियो । सन्तान जन्माउन नसक्ने महिलालाई मृतप्रजा पनि भनिन्थ्यो । प्रजा शब्दको व्युत्पत्ति (इटेमोलोजी) को इतिहास अध्ययन गर्न लायक छ । ‘प्रजा’को अर्थ सधैँ नकारात्मक थिएन । यसको अर्थमा विभिन्नता थियो । तर, राजनीतिमा प्रजा भक्तिसँग जोडिएको छ ।