पार्टी एकता हुँदा दुई अध्यक्षबीचमा भएको सहमति कार्यान्वयन हुन्छ : जनार्दन शर्मा

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी एकता हुदाँ दुई अध्यक्षबीचमा भएको सहमति कार्यान्वय हुने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै नेता शर्माले पार्टी एकता गर्नुअघि अर्थात जेठ २ गते अध्यक्षद्वयबीचमा भएको लिखित सहमति तोकिएको मिति देखि लागू हुने बताएका हुन् । 

पार्टी एकताका मुख्य सूत्रधार तथा दुई अध्यक्षबीचमा भएको पाँच बुँदे सहमतिपत्रका हस्ताक्षरकर्ता समेत रहेका शर्माले अहिले मिडियामा आएका बाहेक अन्य सहमति पनि भएको बताए ।  केही दिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक नीजि टिभीलाई दिएको अन्तवार्तामा पार्टी एकता गर्दा दुई अध्यक्षबीचमा भएको सहमतिको विषय बाहिर ल्यायसँगै पछिल्लो समय पार्टीभित्र तरङ् पैदा भएको छ । यसै विषयमा नेता शर्मासँग रातोपाटीले गरेको छोटो कुराकानी । 

पार्टी एकता हुनुअघि त्यो सहमति कसरी बनेको थियो ? अर्थात त्यो सहमतिको अन्तर्य के थियो ?   

दुइ कम्युनिष्ट धारको एकता गर्दा ठुलो त्याग गर्नुपर्दथ्यो । आ– आफ्नो ठाँउबाट त्याग नगरेसम्म, स्वार्थ नत्यागेसम्म एकता सम्भव थिएन । यो एकता राजनीतिक स्थायित्वको लागि आवश्यक थियो ।  त्यसकारण त्यहाँ संवाद, वार्ता छलफल हुदाँ एकताको प्रक्रिया सुरुवात देखि मैले नै मुख्य भूमिका खेलेको थिए । पछि निर्णयमा नेताहरुले पुर्याउनुभयो । त्यतिबेला दुई फरक मनोविज्ञान थिए । दुई नेताहरुको फरक अवस्था थियो । सम्बन्धहरु त्यति न्यानो थिएन । त्यसलाइ सहज बनाउन, न्यानो बनाउन मैले सहजिकरण गरेको हुँ । 

त्यो क्रममा धेरै पटक छलफल हुँदै आउँदा जेठ २ गते हामीले केही सहमतिहरु गर्न पुग्यौँ, जसले पार्टी एकतालाई अन्तिम रुप दियो । जो अहिले मिडियामा आइराखेको छ, ती लगायत अरु सहमति पनि छन् । कति मिडियामा आए कति आएका छैनन् । उपयुक्त समयमा नेताहरुले त्यसलाई सार्वजनिक गर्नुहोला । 

अहिले बाहिर आएको समहतिको विषय नेकपाको राजनीतिक प्रतिवेदनमा पनि छापिएको छ । अन्य किताबमा पनि दुई अध्यक्षका शुभकामनासहित त्यो सहमति आइसकेको छ । त्यो सहमति हुनुको मुख्य तात्पर्य जनताको पक्षमा, देशको पक्षमा काम गर्ने भन्नेनै हो । 

प्रकाशित मिति: : 2019-06-01 05:06:34

प्रतिकृया दिनुहोस्