अनि 'बोल माया'को छोरो बन्यो 'गलबन्दी'

तस्बिरः नेपाललाइभ

काठमाडौं- प्रकाश सपुतको गीत ‘बोल माया’ धेरैले हेरेको हुनुपर्छ। उक्त गीतमा महिला पात्र (मोडेल अञ्जली अधिकारी) दुई जिउकी छिन्। रोजीरोटीका लागि विदेशिनुपर्ने कथासँग बहेको गीतले धेरैको मथिंगल हल्लायो। गीतलाई गहिरिएर हेर्नेले सपुतलाई एउटा कमेन्ट गरिरहे– ‘बोल माया’को छोरो भयो कि छोरी? एउटा म्युजिक भिडियोका लागि कथा बुनेका प्रकाश दर्शकस्रोताको उक्त प्रतिक्रियापछि सोच्न बाध्य भए। 

आफ्नो पहिलो चर्चित गीत ‘दोहोरी ब्याटल’को दोस्रो भागबाट मिश्रित प्रतिक्रिया बेहोरेका उनले ‘बोल माया’को सिक्वेल सोचेकै थिएनन्। तर, ‘छोरा भयो कि छोरी’ भन्नुको अर्थ दर्शकले त्यसको अर्को भागको अपेक्षा गरेको उनले बुझे। तैपनि उनले सिक्वेल बनाउने आँट गरेनन्। 

गाउँमा रोदी बस्दा गाइने गीत र जम्ने माहोलमाथि उनले गीत बनाए, ‘गलबन्दी’। गीत बन्दासम्म पनि यो सिक्वेलका लागि थिएन। अर्थात् ‘बोल माया’कै टिम (सपुत, गायिका शान्ति श्री र मोडेल अञ्जली) को अर्को प्रस्तुति थियो। म्युजिक भिडियो बनाउनुअघि उनले दर्शकहरुले निरन्तर सोधिरहेको ‘‘बोल माया’को छोरो भयो कि छोरी?’ भन्ने प्रतिक्रिया सम्झिए। त्यसपछि ‘बोल माया’को बन्यो ‘गलबन्दी’। सपुत भन्छन्, 'सिक्वेल होइन, 'बाेल माया'को छोरा हो यो।'

प्रकाशित मिति: : 2019-05-31 14:49:30

प्रतिकृया दिनुहोस्