एकीकरण नसकिँदै सत्ता विवाद

तस्बिरः नागरिक

काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरूबीच भित्रभित्रै विवाद रहेको देखिएको छ। उतिबेलाको लिखित सहमति बाहिर नआए पनि पार्टी र सरकार सञ्चालनमा ओली हावी हुँदै गएपछि त्यो बाहिर आएको हो।

त्यसो त अध्यक्ष दाहालले यसअघि विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ओली र सरकारप्रति गुनासो र असन्तुष्टि प्रकट गर्दै आएका थिए। तर अहिले यस किसिमको असन्तुष्टि मुखर हुँदै आएको छ। जसका कारण पार्टीको एकीकरण प्रक्रियाले पूर्णता नपाउँदै सत्ता फेरबदलको कुरा उठेको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले पूर्वसहमतिअनुसार अर्का अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आश्वस्त रहेको बताएका छन्। सरकार सञ्चालन एक अध्यक्षले र पार्टी सञ्चालन अर्को अध्यक्षले गर्नेगरी प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ छ। ‘एउटा अध्यक्षले पार्टीलाई मुख्य रूपमा हेर्ने र अर्का अध्यक्षले सरकार मुख्य रूपमा हेर्ने भयो भने सहज हुन्छ,’ उनले भने, ‘आलोपालो भनिए पनि मलाई प्रधानमन्त्री हुने हतारो छैन।’ दाहालले एक टेलिभिजन कार्यक्रममार्फत सो धारणा सार्वजनिक गरेका हुन्।

 

प्रकाशित मिति: : 2019-05-31 09:01:32

प्रतिकृया दिनुहोस्