बुधबार, १७ सेप्टेम्बर २०२५

जेनजी आन्दोलनको छायाँमा उदाएकी निःस्वार्थ दीप: आशिका तामाङ

News Image
• • •

—आकांक्षा धामी

जेन-जी आन्दोलनको अत्यासलाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुवैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी। उनी हुन्, आशिका तामाङ।

जेनजी आन्दोलनका घाइतेहरूको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरू थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरू, आमाहरू, दाजुभाइहरू, ती अचेत शरीरहरूको स्याहार गर्न नजिक पुगेकी थिइन् आशिका। न त उनले त्यो दिन पत्रकारको ध्यान तान्न खोजिन्, न त सामाजिक सञ्जालको वाहवाहीको अपेक्षा गरिन्। तर, उनी त्यहाँ थिइन् खाना, पानी, मल्हमपट्टी, लुगा, औषधि, र माया बोकेर।

जेन-जी आन्दोलनअघि पनि सामाजिक सेवामा सक्रिय तामाङ अहिले यो  आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका परिवारहरूलाई आर्थिक सहयोग गर्दै घाउँमा मलमपट्टी लगाउनमा व्यवस्थ छिन्।

आशिका तामाङ त्यो पात्र हुन् जसले जेन-जी आन्दोलनमा घाइते भएकाहरूलाई धेरै सहयोग गरिन्। उनले निस्वार्थ ढंगले सेवा गर्दै आज उनले सबैको मन जितेकी छन्। तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी छन्।

भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफैं थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन्। कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातीमा । तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको छैन। उनी आफैं ती अज्ञात बिरामीहरूका लागि आफन्त बनिन् र घाइतेहरूका घरपरिवारसम्म सन्देश पुर्‍याउन पनि सहयोग गरिन्।

उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन। त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल। त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो ‘मानवताको आवाज, जसले पीडामा साथ दिन्छ।’

उनले नहेरेका कोही थिएनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल, र काठमाडौंका अन्य अस्पतालसम्म। रातदिन नभनी दौडिरहेकी थिइन्, जतिबेला देशभर जेन-जी आन्दोलनको राप सल्किरहेको थियो यो एउटी महिलाको कथा हो, जसलाई कहिल्यै औपचारिक ’कर्मचारी’ वा ’पद’ दिइएन, तर जसले असली नेतृत्व देखाइन्। उनले समाजलाई देखाइन् कि, नेतृत्व सत्ता र भाषणले होइन, कर्मले हुन्छ।

हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, ‘यस्तो पनि समाज सेवा हुन्छ?’ भन्दै तुच्छ टिप्पणी गरे। आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन्। उनी आज जनताको नजरमा ‘भगवान’ का रुपमा देखिएकी छिन्।

उनको उदारताले कुनै सीमा मानेन। बझाङका सुभाष बोहरा— जसले आन्दोलनका क्रममा गोली लागेर आफ्नो ज्यान गुमाए, उनको परिवारलाई आशिकाले १ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकिन्। ज्यान गुमाएकाहरूको पशुपतिमा दाहसंस्कारको व्यवस्थादेखि लिएर अस्पतालमा घाइतेहरूसम्म पुग्न उनले कुनै कसर बाँकी राखिनन्।

उनको सहयोग केवल आर्थिक मात्र होइन भावनात्मक सहारा पनि हो। यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘आमा’ बनिन्। अझ प्रष्ट भाषामा भन्ने हो भने प्रहरीको बन्दुकको गोली लागेर अस्पतालको शय्यामा छट्पटाइरहका घाइतेहरूका लागि दुखाइ निको पार्ने सिटामोल बनेर आशिका उभिइन् भन्दा फरक पर्दैन।

सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन्। एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै संगठन वा नीतिमा सीमित हुँदैन, त्यो त दिलको कुरा हो। जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहींबाट सुरु हुन्छ परिवर्तनको बीउ।

आज हामीले उनीजस्तो पात्रको कथा लेख्नुपर्छ, सुनाउनुपर्छ, ताकि हाम्रो पुस्ता ‘नेतृत्व’ भनेको कुर्सी होइन, मानवीयता हो भन्ने पाठ सिकून्।

आशिका तामाङ एउटा उदाहरण हुन् जतिबेला देश दुखाइमा छ, आन्दोलनमा छ, त्यतिबेला कसरी एक नारी, विना तामझाम, विना प्रचार, केवल मानवताको आवाजमा उठेर लाखौंको हृदय छुने सेवा गर्न सक्छिन्। यीनै आशिकाहरूका कारण समाजमा अझै आशा बाँकी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!