शुक्रबार, १७ जुलाई २०२६

सचिव कृष्णहरिले ‘राजदूत बन्न सहयोग मागे’, प्रधानमन्त्री बालेनले प्रहरी लगाए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

सचिव कृष्णहरि पुष्करलाई नेपाल प्रहरीले गएराति नियन्त्रणमा लिएर छाडेको छ।

प्रधानमन्त्री बालेन शाहको निजी नम्बरमा म्यासेज पठाएर ‘चेन अफ कमाण्ड’ तोडेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो। 

आगामी असार २१ गते अनिवार्य अवकाश पाउन लागेका सचिव पुष्करले बिहीबार प्रधानमन्त्रीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिदिन आग्रह गर्दै एउटा म्यासेज पठाएको सिंहदरबारनिकट स्रोतले जनाएको छ। 

लगतै, प्रधानमन्त्रीको सचिवालयले नेपाल प्रहरीलाई सो म्यासेजबारे जानकारी गराउँदै अनुसन्धान गर्न निर्देशन दिएपछि सचिव पुस्कर प्रहरीको फन्दामा परे। 

दिउँसो सोधपुछको लागि उपत्यका अपराध अनुसन्धान महाशाखा बाेलावट भएपछि राति अबेर प्रधानमन्त्रीलाई अब यस्तो म्यासेज नपठाउने शर्तमा छुटेको प्रहरीले जनाएको छ। 

स्रोतका अनुसार उनीमाथि प्रधानमन्त्रीलाई व्यक्तिगत म्यासेज पठाएको आरोप लगाइएको थियो। प्रधानमन्त्रीलाई पठाएको म्यासेजमा उनले लेखेका छन्, ‘राजदूतको लागि आवेदन खुलेको रहेछ, सहयोग पाउने अपेक्षा छ हजुर!’

सोही विषयमा उनीमाथि प्रहरी अनुसन्धान भएको हो।

सरकारी कर्मचारीले पदीय मर्यादाविपरीत उच्चपदस्थ व्यक्तिलाई म्यासेज गरेको भन्दै उनीमाथि अनुसन्धान गरेपछि पत्नी आभा श्रेष्ठको जिम्मामा छाडिएको थियो।

सचिव पुष्करले पटकपटक प्रधानमन्त्रीको समय माग्दा पनि समय नै पाएनन्। त्यसपछि उनले सीधैं प्रधानमन्त्रीकाे निजी नम्बरमा म्यासेज गरे। तर प्रधानमन्त्री बालेनले भने प्रहरी लगाएर अनुसन्धानमा ताने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!