वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । बुधबार उद्धघाटन खेलमा क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो ।
काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर ३ बलमा पुरा गर्यो ।चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन । २३ बलको सामना गरेकी सुमनले ४ चौका प्रहार गरेकी थिएन् ।
यस्तै प्यारी चौधरीले अविजित २४ रन जोडिन ।
काठमाडौंका ईश्वरी बिस्टले २ विकेट हात पारिन् । यस्तै संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले सामान १–१ विकेट हात पारे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौं २० ओभरमा ९२ रनमा अल आउट भएको थियो । ओपनर रश्मी शर्मा चौलागाईंले राम्रो सुरुवात दिलाएका थिए । चौलागाईं ३४ रनमा आउट भए ।
सरस्वती कुमारीले १५ रन जोडिन । कप्तान रुबिना क्षेत्री १ रनमा आउट भईन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् ।
चितवनका सन्तोषी चौधरीले ४ ओभरमा १४ रन खर्र्चेर सर्वाधिक ३ विकेट लिइन् । रेखा रावल,कविता गौतमको नाममा समान २ विकेट रह्यो । रितु कनौजियाले १ विकेट लिइन् ।
काठमाडौंले बिहीबार पोखरा पल्टनसँग खेल्ने छ । त्यस्तै चितवनले शुक्रबार ललितपुर फाल्कोन्ससँग प्रतिस्पर्धा गर्ने छ ।