प्रधानमन्त्री ओली फर्कने समयमा आज पनि ३५ मिनेट विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग। तस्बिरः एजेन्सी

भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ स्वदेश फर्किँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन भारत गएका प्रधानमन्त्री ओली आउने समयमा शुक्रबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ मिनेट अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको छ।

त्रिभूवन विमानस्थलले साँझ ५ बजेर ३० मिनेटदेखि ६ बजेर १५ मिनेटसम्मका लागि ‘नोटाम’ जारी गरिसेको छ।

प्रधानमन्त्री ओली ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ।

विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार प्रधानमन्त्री आइपुग्नु भन्दा १५ मिनेट अघिदेखि २० मिनेट पछिसम्म विमानस्थलमा अन्य उडान तथा अवतरण बन्द हुन लागेका हुन्।

यसअघि बिहीबार नयाँदिल्ली जाँदा पनि विमानस्थलमा ४५ मिनेट उडान तथा अवतरण ठप्प पारिएको थियो।

नोटामका कारण दर्जनौं उडान प्रभावित हुने गरेको छ।

यस्तै आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएको भन्दै मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन्।

अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

 ‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन्, ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो , यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहान्छु।’

गत शुक्रबार सरकारी कामका लागि मेक्सिकोबाट मेक्षिकालीसम्मको यात्रामा जोसेफाका कारण अन्य व्यवसायिक जहाजको उडान ३८ मिनेट ढिला भएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो।

नेपालमा पनि उडान प्रभावित भएपछि बिहीबार विमानस्थलमै यात्रुले नाराबाजीसमेत गरेका थिए। यसको सबत्र विरोधसमेत भइरहेको छ।

प्रकाशित मिति: : 2019-05-31 16:46:20

प्रतिकृया दिनुहोस्