भारतमा कम्युनिष्ट पार्टीको विजोग, आफ्नै गढमा खाता खोल्न सकेन

Agency

पश्चिम बंगालमा कुनै बेला ३४ वर्ष एक्लै राज्य सञ्चालन गरेको भारतीय कम्युनिष्ट पार्टी सन् २०१९ को संसदीय निर्वाचनमा आफ्नो अस्तित्व खोज्नु पर्ने अवस्थामा पुगेको छ। 

भारतीय कम्युनिष्ट पार्टी–मार्कसिष्ट (सीपीआई–एम) ले  लोकसभामा ४२ स्थान भएको पश्चिम बंगालमा जितको खाता नै खोल्न सकेन।

सन् १९६४ मा स्थापना भएको कम्युनिष्ट पार्टीको यो अहिलेसम्मकै खराब नतिजा हो। सीपीआई–एम र उसको सहयोगी लेफ्ट फ्रन्टले पश्चिम बंगालमा सन् १९७७ देखि २०११ सम्म ३४ वर्ष शासन गरेको थियो।

सीपीआई–एमले १९८९, १९९६ र २००४ मा केन्द्रमा सरकार बनाउन महत्वपूर्ण सहयोग गरेको थियो। सन् २००४ मा उसले ४२ मध्ये सर्वाधिक २६ स्थानमा विजय प्राप्त गरेको थियो।

सन् २०१४ मा दुई सिटमा समेटिएको कम्युनिष्ट पार्टी यसपालि खाता खोल्नबाट समेत बञ्चित भएको छ।

पश्चिम बंगालमा पार्टीको हारको सम्पूर्ण जिम्मेवारी महासचिव सिताराम यचुरीले लिएका छन्। उनले आफूबाट ठूलो गल्ती भएको पनि बताए।

कम्युनिष्ट पार्टीको गढ मानिएको विहारको बेगुसराय सिटबाट जेएनयु चर्चित विद्यार्थी नेता कन्हैया कुमारले पनि जित्न सकेनन्। जित्ने आशा गरिएका उनी भारतीय जनता पार्टीका कट्टरपन्थी नेता गिरिराज सिंहसँग ठूलो मतान्तरले पराजित भए। 
यसपालिको लोकसभा निर्वाचनमा तमिलनाडुको कोइमबतुर र मदुराई तथा केरलाको एउटा सिटमा मात्र कम्युनिष्ट पार्टीले अग्रता बनाएका छन्।

 

 

प्रकाशित मिति: : 2019-05-24 14:46:02

प्रतिकृया दिनुहोस्