बाँके घटना: संसदमा अवरोध नगर्न कांग्रेस सहमत

फाइल तस्बिर

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरोध नगर्ने भएको छ ।पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएकाले आजको संसद बैठक अवरुद्ध नगर्ने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

अब केहीबेरमा बस्ने संसद बैठकमा सचेतक पुष्पा भुसालले बोल्ने र सदनको नियमित कारबाही सुचारु हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उनले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६” पेश गर्ने कार्यसूची रहेको छ ।यता प्रतिनिधि सभाका सचिव श्री गोपालनाथ योगीले वातावरण संरक्षण विधेयक, २०७५” र “वन विधयेक, २०७५” टेबुल गर्नछन् ।

आइतबार काँग्रेसले घटनाका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो ।काँग्रेसले अवरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति: : 2019-09-16 15:31:27

प्रतिकृया दिनुहोस्