निजी कम्पनीलाई जन्मकुण्डली बुझाउनुपर्ने
सरकारले सर्वसाधारणको व्यक्तिगत गोपनीयता हुने विवरण निजी कम्पनीलाई उपलब्ध गराउने गरी ‘सम्पत्ति शुद्धीकरण’सम्बन्धी नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले तयार पारेको सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिकाको मस्यौदामा सर्वसाधारणको तीनपुस्ते विवरण निजी कम्पनीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ । कसैले नियमनसमेत नगर्ने निजी कम्पनीलाई व्यक्तिका अति गोप्य विवरण बुझाउनुपर्ने व्यवस्थाले त्यस्तो विवरणको दुरुपयोग हुने ठूलो सम्भावना हुन्छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले तयार पारेको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कम्पनीहरूलाई जारी गरिने निर्देशन, २०७६’को मस्यौदामा कुनै पनि कम्पनीले आफूसँग कारोबार गर्ने व्यक्ति वा संस्थाको पहिचान (केवाइसी) राख्नुपर्ने हुन्छ । १० लाख वा सोभन्दा माथिको कारोबार गर्नेको तीनपुस्ते विवरण कम्पनीले राख्नुपर्ने हुन्छ ।