एलाक, तमसुक कविता र मान्द्राभरि बिस्कुन

तस्बिरः नेपाल न्यूज

२०४३ सालमा कृषि विकास बैंकको जागिर पाएपछिको मेरो पहिलो कार्यालय इलाम शाखामा परेको थियो। असारको २६ गते म दोस्रोपल्ट लामो अवधि बस्ने गरी त्यहाँ पुगेको थिएँ। त्यसभन्दा पहिले २०३५ साल असार ५ गते क्याम्पस पढ्नका लागि पहिलोपल्ट इलाम उत्रिएको थिएँ।

२०३५/३७ को दुई वर्षको बसाइमा क्याम्पसभित्र र बाहिरको इलामे साहित्यिक गतिविधिमा सामान्य सहभागी भइएको थियो। अग्रजहरूको पछिपछि लागेरै बितेको थियो त्यो अवधि। खासमा मेरो लेखन अभ्यासको सुनौलो बेला थियो त्यो।

मैले त्यसबेला आफ्नो नामको पछि धराबासी लेख्न थालेको थिएँ। प्रधान संपादक गणेश निरौला र सहसम्पादकमा दुर्गा भट्टराई, लेखनाथ भट्टराई, प्रकाश बुढाथोकी र कृष्ण भट्टराई रहेर २०३७ सालमा समसामयिक साहित्यिक संकलन भनी कन्दरा पत्रिका प्रकाशन गरिएको थियो। त्यसभन्दा अघि दुई अङ्क हस्तलिखित पत्रिकाका रूपमा निकालियो। सम्पादककै लस्करमा नाम छापिनु मेरा लागि महत्वपूर्ण अवसर थियो।

दोस्रोपल्टको इलाम बसाइँ भने मेरो साहित्यिक जीवनको लागि अत्यन्त अविस्मरणीय बनेको छ। म पाँचथरमा जन्मेर, झापामा हुर्किए पनि मेरो साहित्यिक यात्राको प्रस्थानबिन्दु भने इलाम नै भयो। आज पनि इलाम सम्झनासाथ मनमा त्यसै त्यसै हर्ष लागेर आउँछ।

दोस्रोपल्ट इलाम पुग्दा म पूर्वाञ्चलमा कविका रूपमा स्थापित नामसहित पुगेको थिएँ। त्यसैले यसपल्ट मैले आफूलाई खासै चिनाउने आवश्यकता नै परेन।

क्याम्पसमा पढाउने कतिपय गुरुहरू पुरानै थिए। व्यापारीहरू पनि छँदै थिए, तर नयाँ लेखकहरू चिन्नुपर्ने भएको थियो।


कुनै खास राजनीतिक संलग्नता नबोकेको भए पनि त्यो आन्दोलनले काव्यिक विद्रोहको काम गरिरहेको थियो र, झापाको प्रशासन त्यसबारे सशंकित थियो।


संयोगले मेरो कार्यालयसँग जोडिएकै घरमा विष्णु निष्ठुरीका आमाबाको रेस्टुरेन्ट रहेछ। खाजा खान जाँदा एक दिन त्यहीँ उनीसँग भेट भो।

विष्णु आफैं परिचय गर्न आएकाले मलाई सजिलो पनि भयो। यही सूत्र नै अब मलाई नयाँ कविहरूसम्म पग्ने माध्यम भयो। विष्णुसँगको बाक्लै भेटघाटपछि विस्तारै मंगेश दिपविम, धीरन चेम्जोङ, विमल वैद्य, कुवेर निरौला, नीलकमलआदिसँग परिचय बढ्यो र, संगत बाक्लिन लाग्यो।

यसैबीच, पुराना दाइहरू धर्म गौतम, कोमल निरौला, महेश दिपविम, मुकेश, नारायण वली, गजमेर, रामप्रसाद पोखरेल आदिसँग पनि फेरि संगत बढेर गयो। वेनुप प्रसाई नगर प्रमुख र भीष्म वैद्य उपप्रमुख थिए।

नगरपालिकले नगर प्रतिभा विकास शाखा भनेर नगरका प्रतिभालाई प्रोत्साहित गर्ने काम गर्दै आएको रहेछ। हामीले साहित्यिक गतिविधि गर्न त्यो शाखाको सहयोग मागेपछि हामीलाई नगरपालिकाले हल उपलब्ध गराइदिने भयो।

प्रत्येक शनिबार हामी साप्ताहिक कोठेगोष्ठीको सञ्चालन गर्न लाग्यौं। केही हप्तापछि नै इलाममा एकाएक नयाँ खाले साहित्यिक वातावरण बन्न थाल्यो। त्यसका लागि तत्कालीन स्थानीय विकास अधिकारी नवीन घिमिरे र योजना अधिकृत लोकप्रसाद आचार्यको भावनात्मक सहयोग उत्साहजनक हुन थालेपछि प्रशासनिक रूपमा पनि खासै डर थिएन।

म आफू कर्मचारी भएर गएको भए पनि झापामा हामीले २०४० सालदेखि चलाएको भोक कविता आन्दोलनको मानसिकता सँगै बोकेर गएको थिएँ। त्यहाँको कार्यक्रममा पनि भोक कविताको प्रचार र विस्तार मेरो भित्री उद्देश्य थियो।

कुनै खास राजनीतिक संलग्नता नबोकेको भए पनि त्यो आन्दोलनले काव्यिक विद्रोहको काम गरिरहेको थियो र, झापाको प्रशासन त्यसबारे सशंकित थियो। त्यो इलामको प्रशासनलाई थाहा नहुने कुरा त थिएन। तैपनि किन हो हामीलाई उति सारो प्रश्न आउन थालेका थिएनन्।

विष्णु निष्ठुरीको संयोजनमा एउटा हस्तलिखित भित्तेपत्रिका प्रकाशन हुन थाल्यो। हरेक शनिबार विभिन्न रङका साइन पेनले राम्रा अक्षरमा कार्डबोर्डमा लेखी भित्तामा टाँसिन्थ्यो।

राजेन्द्र सुवेदी र जुद्ध वैद्य, बुद्धि घिमिरेले पनि हाम्रो यो साहित्यिक गतिविधिमा उत्साह भर्न थालेपछि हामी फुकेका गाई हुन थालेका थियौं। त्यसैबीच झापाबाट अर्का कवि भरत भूर्तेल इलाममै बसी ल फर्म चलाउने गरी आएपछि यो अभियानले झन् गति पायो।

प्रकाशित मिति: : 2019-09-07 08:13:55

प्रतिकृया दिनुहोस्