२०२२ सालमा पहिलोपटक जुम्ला (अहिले कालिकोट)मा एसएलसीको परीक्षा केन्द्र हुने भयो । एक जना पनि विद्यार्थी पास नभए केन्द्रै खारेज हुन्थ्यो । केन्द्र खारेज हुने अनुमान गरेर शान्ति विद्यागृह माध्यमिक विद्यालय काठमाडौंमा पढ्दै गरेका प्रेम कैदीलाई जुम्लीले बोलाए ।
जहाज तिला नदी हुँदै फर्किएर जुम्लातिर लाग्यो । माघको महिना थियो । चारैतिर हिमपात । काठमाडौंमा बसेर पढ्न थालेकाले उताको चिसो उनको शरीरले थेग्न छोडिसकेको थियो । हात कठ्याङग्रिएर जानेको पनि लेख्न सकेनन् । तै, तेस्रो श्रेणीमा पास भए । “काठमाडौंका मेरा सबै साथीहरुले फस्र्ट डिभिजनमा पास गरे मैले भने सेकेन्ड डिभिजन पनि ल्याउन सकिनँ,” प्रेम चुक्चुकाउँछन्, “बीएससी एजीमा छात्रवृत्तिमा पढ्ने सपना मेरो अधुरै रह्यो । तर जुम्लामा एसएलसी नदिएको भए म यतिबेला कुनै कृषिको हाकिम भएर भ्रष्टाचार गरेर बसिरहेको हुने थिएँ । जुम्लाको एसएलसीले जे गर्यो, ठीक गर्यो । हैन भने म बर्बाद हुन्थेँ ।”
जुम्लाको एलएलसीपछि प्रेम त्रिचन्द्र कलेजमा विज्ञान पढ्न भर्ना भए । पञ्चायतको समय, कलेजमा पढाइ कम र राजनीति ज्यादा हुन्थ्यो । त्यही वर्ष खोर्सानी काण्ड (२०२६) भयो । पढाइ बन्द भयो । प्रेमका बुवा काङ्ग्रेसको मुखपत्र ‘तरुण’ गाउँमा वितरण गरेको आरोपमा वारेन्ट पाएर बर्दियामा मिल चलाएर बसिरहेका थिए । त्यहाँबाट पनि निर्वासित भएर उनी भारत पसे ।
कलेजमा पढाइ नभएपछि उनी बुवा भएको ठाउँमा पुगे । छोरो प्रेमलाई इन्जिनियर बनाउने रहर थियो उनको । भारतमै भएका बेला उनले एक वर्षे रेडियो इन्जिनियरको कोर्स गर्न प्रेमलाई पञ्जाव पठाए । प्रेमले भने आफ्नो कोर्सभन्दा बढी माक्र्सवादी कम्युनिस्टको दर्शनसँगै इतिवृत्तान्त समेटिएको स्टालिनको पुस्तक पढे, पूरै नौ महिना लगाएर । त्यसले उनलाई दर्शन शास्त्रबारे गहिरो ज्ञान दियो ।
पहिलेदेखि नै लेख्ने बानी थियो उनको । चलचित्रको पटकथामा उनको रुचि थियो । त्यो लेख्थे । जासुसी उपन्यास पनि लेख्थे । आईएस्सी पढ्दापढ्दै उनका केही पुस्तक प्रकाशित भएका थिए ।
आईएस्सी छोडेर इलेक्ट्रिकल इन्जिनियरिङको एक वर्षे कोर्स गरेर फर्किएपछि उनले प्राइभेट आईए पूरा गरे । त्रिचन्द्रमा बीएमा भर्ना भए ।
त्यहीबेला भारतले सिक्किम विलय गरायो । पत्रपत्रिकामा लेख लेख्ने, जासुसी उपन्यास प्रकाशन भइसकेका । हरेक मञ्चमा कविता पाठ गर्ने । उपनाम पनि कैदी । उनी चर्चित थिए ।
सिक्किम भारतमा विलय भएपछि त्यसको विरोधमा उनले त्रिचन्द्रमा कार्यक्रम नै आयोजना गरे । कुनै पनि स्वतन्त्र मुलुकललाई हडप्ने कार्यको उनी घोर विरोधी थिए । त्यही कार्यक्रममा अखिल र नेविसङ्घको झडप भयो । दुवै पक्षलाई मिलाउने काममा संयोजनकारी भूमिका उनैले निर्वाह गरे । उनी मान्छेलाई कसरी सम्झाइबुझाइ थामथुम पार्ने भन्ने कुरामा जानकार थिए ।
काठमाडौंका २६ वटा कलेजमा प्रतिनिधि पठाएर भोलिपल्ट हजारौंको जुलुस लिएर भारतीय दूतावास घेर्न गए । “त्यो जुलुसमा सबैभन्दा पहिला मलाई नै प्रहरीले गिरफ्तार गर्यो,” प्रेम सुनाउँछन्, “त्यो बेला नेविसङ्घ र अखिलबीचको सम्बन्ध राम्रो नभएकाले मैले स्वतन्त्र व्यक्तिको रुपमा त्यो जुलुसको व्यवस्थापन गर्ने काम गरेको थिएँ ।” प्रहरीले उनलाई चिल्ड्रेन पार्कमा लगेर राखेको थियो । प्रहरीलाई देखेर कुकुरले झम्टियो । प्रहरीहरु कुकुर धपाउनतिर लागेको मौका छोपेर प्रेम भागे ।
आन्दोलन तितरवितर पार्न प्रहरीले लठ्ठी प्रहार गर्यो । अश्रुग्यास हान्यो । प्रहरी निरीक्षक अच्युतकृष्ण खरेल (पछि प्रहरी महानिरीक्षक बनेका) नेतृत्वको टोलीले शान्तिपूर्ण आन्दोलनमा बाधा पुर्याइरहेको थियो ।
प्रेम कुनै राजनीतिक दल र विद्यार्थी सङ्गठनमा नबसे पनि अखिलनिटक थिए ।