हुर्किँदै गरेको अशोकाका विरुवाहरुले छेकिएको अधुरो घर । घरको अगाडिपट्टि बालुवा चाल्न ठिक्क पारिएको तारजाली छ । शुक्रबार विहानको कलिलो घाममा त्यही घरको पिँढीको डिलमा सुस्ताइरहेकी आमा छिन् । घरभित्र टाउकोमा सेतो कपडा बेरेर पति वियोगमा छट्पटाइरहेकी लक्ष्मी । अनि निन्याउरो मुख लगाएर कुनातिर उभिरहेका दुई छोरा ।
अफगानिस्तानको कावुल सोमबार भएको बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको घर पुग्दा यस्तै दृश्यहरु देखियो । जिल्ला सदरमुकाम भरतपुरदेखि करिब १४ किमी पश्चिममा रहेको पार्वतीपुर बजार पुगिन्छ । त्यहाँबाट केही दक्षिणमा पर्ने कालिका चोक नजिकै कृष्णबहादुरको अधुरो घर छ ।
अधुरो घरको अधुरो सपना पूरा गर्न कावुल पुगेका कृष्णबहादुरले फेरि कहिल्यै टेक्ने छैनन् यो घरको दैलो । डाँडामाथिको जूनजस्तै बनेका वृद्ध वुवाआमासँग छोरो जन्माएको, हुर्काएको, पढाएको र बढाएको स्मृति मात्र बाँकी छन् ।
श्रीमती लक्ष्मीसँग बितेका मिठा यादहरु मात्र । तीजको दिन राति पौने १० बजे अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा कृष्णबहादुरसहित रोल्पाका चन्द्र पुनले ज्यान गुमाए ।
ग्रीन भिलेज क्याम्प विदेशीहरू बस्ने भवन हो । ‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए । ४५ दिनको विदा सकेर काबुल फर्किएको १२ औं दिनमा कृष्णबहादुरले आत्मघाती आतंकवादीको हमला परे । विगत १० बर्षदेखि क्यानेडियन सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनी ३ भदौमा अन्तिम पटकका लागि भन्दै काबुल गएका थिए । बाँकी हरहिसाब मिलाएर चाँडै फर्कने उनको वाचा थियो, परिवारसँग । तर ५१ वर्षकै उमेरमा विदेशी भूमिमा अस्ताए ।
परिवारका सबै सदस्यको जोड थियो, भयो अब नजाऊ । पत्नी लक्ष्मीले त रोक्न निकै प्रयास पनि गरेकी थिइन् । श्रीमानको राहदानी पनि लुकाइदिएकी हुन् । तर विदा थपेर आउँछु भन्दै काठमाडौं हिँडेका कृष्ण काबुल पुगे । घरबाट निस्किएका कृष्णबहादुरले नत आमाबाबुलाई जान्छु भने नत छरछिमेकलाई ।
नाताले भिनाजु पर्ने कमल थापा मगर भन्छन्, ‘अघिल्लो दिनसम्म सँगै थियौं, एक वचन जान्छु भिनाजु पनि भनेन । विदेश अब नजाऊ भन्दा चुप लाग्थ्यो, बोल्दैनथ्यो ।’
काबुल जानुअघि जहाज चढ्ने बेलामा आमालाई फोन गरे । ‘आमा म काबुल जान लागे, छिट्टै फर्किन्छु । आफ्नो ख्याल गर्नु, बुवालाई पनि गयो भनिदिनू ।’
छोरासँग भएको कुराकानी सम्झिँदै चित्रकुमारी भक्कानिइन्, ‘छिट्टै आउँछु आमा भनेर गएको छोराको यस्तो हालत भयो । हे दैव हामीले के पाप गरेका थियौं यो सजाय दियौं ?’