नेपालले जिम्बाबे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेल्ने

तस्बिरः एजेन्सी

नेपालले टेष्ट राष्ट्र जिम्बाबे र सिंगापुर सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने भएको छ।

ओमानमा आयोजना हुने ५ देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु अघि सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म सिरिज हुन लागेको हो।

सिंगापुर त्रिकोणात्मक सिरिजबारे नेपालको स्पष्ट धारणा नआए पनि नेपाली टोली सिंगापुर जाने लगभग पक्का भइसकेको छ।

भ्रमण गर्नुअघि नेपाललाई आईसीसीको अनुमतिको आवश्यक हुन्छ। त्यसैले केही समयमै नेपालले उक्त सिरिज खेल्नेबारे अधिकारिक निर्णय आउनेछ। यता सिंगापुर क्रिकेट एसोसिएसनले नेपाल, जिम्बाम्बे र सिंगापुर बिच हुने सिरिजको तालिकासमेत सार्वजनिक गरिसकेको छ।

सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जिम्बाम्बेविरूद्ध खेल्नेछ। यस्तै सेप्टेम्बर २८ मा सिंगापुरविरूद्ध खेल्ने कार्यक्रम छ। यस्तै अक्टुबर १ मा जिम्बाम्बे र २ अक्टुबरमा सिंगापुरविरूद्ध खेल्नेछ। 

टी-२० विश्वकप छनोटको तयारी स्वरूप त्रिकोणात्मक सिरिज आयोजना हुन लागेको हो।

आगामी अक्टोबर ५ देखि १० सम्म ओमानमा खेल्ने प्रतियोगिता पक्का भइसकेको छ। उक्त प्रतियोगितामा आयोजक ओमान सहित, नेपाल , हंगकंग, आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्। अक्टोबर ११ देखि युएईमा आयोजना हुने टि-२० विश्वकपको तयारीको लागि ओमानले प्रतियोगिता आयोजना गरेको हो।

एसिया रिजनको फाइनलमा नेपाललाई पछि पार्दै टी-२० विश्वकप छनोटमा पुगेको सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि भन्दै त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो।

यसैबीच जिम्बाबेको मिडियाका अनुसार जिम्बाबेले नेपाल र सिंगापुरसंग सिरिज खेल्ने भइसकेको छ। जिम्बाबे क्रिकेट टिमले अफगानिस्तान र बंगलादेशसँग त्रिकोणात्मक टि-२० अन्तर्रास्ट्रिय सिरिज खेल्नेछ।

अफगानिस्तान र बंगलादेशले जारि एक टेस्ट पछि उक्त त्रिकोणात्मक टि-२० सिरिज बंगलादेशमा खेलिनेछ। उक्त सिरिज पछि जिम्बाबे सिंगापुर जाने भएको उक्त समाचारमा जनाइएको छ।

सिंगापुर, नेपाल र जिम्बाबे बीचको त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म आयोजना हुने बताईएको छ।

३ देशले एक अर्का बीच २/२ वटा खेल खेल्ने छन् जसपछि अंक तालिकामा उत्कृष्ट हुने टिम  बीच फाइनल खेलिनेछ।

जिम्बाबेसँग नेपालले पछिल्लो पटक गत वर्ष एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा खेलेको थियो। जिम्बाबेमा सम्पन्न उक्त प्रतियोगितामा नेपाललाई घरेलु टिमले ११६ रनले सहजै पराजित गरेको थियो।

जिम्बाबे क्रिकेटलाई आईसीसीले निलम्बन गरेता पनि बोर्डले आफ्नै पहलमा टिमलाई खेलाउन लागेको हो। निलम्बनको कारण जिम्बाबेले टी-२० विश्वकप छनोट गुमाएको थियो। जिम्बाम्बेको सट्टा अफ्रीकाको टिम नाइजेरियाले प्रतियोगिता खेल्ने मौका पाएको छ।

नेपाली क्रिकेट टिम हाल डिसेम्बर १ देखि नेपालमा आयोजना दक्षिण एसियाली खेलकुदको लागि तयारीमा व्यस्त रहेको छ।

प्रकाशित मिति: : 2019-09-06 15:52:20

प्रतिकृया दिनुहोस्