श्रीलंकामा जारी अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत नेपालले आयोजक श्रीलंकाविरूद्ध आफ्नो पहिलो खेल खेलिरहेको छ।
कोलोम्बोस्थित आर. प्रेमदासा स्टेडियममा जारि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो।
वर्षाको कारण ९ ओभर सकिँदा खेल रोकिएपछि ओभर घटाइएको थियो।
कमजोर सुरूवात गरेको नेपालका लागि ओपनर पवन सर्राफ ४ तथा आसिफ शेखलाई ७ रन बनाएर आउट भए।
सातौं ओभरमा २४/२ को स्थितिबाट ओपनर रित गौतम र कप्तान रोहित पौडेलले राम्रो साझेदारी गरे। दुवैले तेस्रो विकेटको लागि ९१ रनको साझेदारी गर्दै नेपाली इनिङ्स उकासे।
८५ बल खेलेका गौतमले ४ चौका प्रहार गर्दै ५४ रन बनाएर ३० औं ओभरमा आउट भएका थिए। लगत्तै ४७ रन बनाएर खेलिरहेका कप्तान रोहित पौडेल पनि आउट भए।
उनले ८० बलमा १ चौका प्रहार गरेका थिए। त्यसपछि भिम शार्की १ रन बनाएर रन आउट हुँदा श्रीलंका खेलमा हावी भयो।
त्यसपछि नेपालको विकेट पतन सुरु भयो। कुशल मल्ल र कमल सिंह ऐरी समान २/२ रन तथा सागर ढकाल १ रन बनाएर आउट भए। अन्तिममा रासिद खानले अविजित १५ रन बनाएका थिए।
श्रीलंकाका लागि दिलशान मदुशंका र नाभोद दिनुश्रीले समान ३-३ विकेट लिए।
प्रतियोगिता अन्तर्गत नेपाल समूह ‘बि’ मा रहेको छ जुन समूहमा नेपाल र श्रीलंका सहित युएई र बंगलादेश रहेको छ। आजै युएई र बंगलादेश बीच पनि खेल चलीरहेको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, कुवेत र अफगानिस्तान छन्।
नेपालले दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा तथा तेस्रो खेल युएईसँग सेप्टेम्बर १० मा खेल्नेछ। दुवै समूहबाट उत्कृष्ट २ टिम सेमिफाइनल प्रवेश गर्नेछ।