क्षिण एसियाकी सशक्त सामाजिक अभियन्ता, कवि अनि लेखक हुन् कमला भसिन। पाँच दशकदेखि निरन्तर लैङ्गिक समानता, गरिबी निवारण, मानव अधिकार र शैक्षिक विकासमा बहस गर्दै आएकी छिन् उनी। नारीवादी विचारका कारण चर्चित भसिन नारीवादीहरुको सञ्जाल ‘संगत’का संस्थापक हुन्। सन् २००२ मा संयुक्त राष्ट्रसंघको जागिर छाडेपछि उनले संगतमार्फत् काम गर्दै आएकी छिन्। यो संस्थाले महिलाविरुद्धको हिंसा अन्त्य गर्न र न्याय, समानता, शान्ति स्थापनाका लागि काम गर्छ।
लैङ्गिक असमानता, पितृसत्ता, महिला हिंसा लगायत विषयमा खुलेर बोल्ने भसिनका ‘बोर्डर्स एण्ड बाउन्ड्रिज: वुमन इन इन्डियाज पार्टिसन', ‘एक्प्लोरिङ मस्कुलिनिटी’,‘लाफिङ म्याटर्स’, र ‘ह्वाट इज पेट्रियार्की’ लगायत पुस्तक चर्चित र ३० भन्दा बढी भाषाहरुमा अनुदित छन्।
भसिन २४ अप्रिल १९४६ मा मन्दी बाहुद्धिनमा जन्मिएकी हुन् जुन हाल पाकिस्तानमा पर्छ। उनी जन्मदा भारतीय स्वतन्त्रताको लडाईँ उत्कर्षमा थियो। त्यसैले उनी आफूलाई 'मध्यरातको पुस्ता'मान्छिन्। उनी स्वतन्त्रता उदाउनु र विभाजन हुनु अघि जन्मिइन्। कमला जन्मिएको भूमि पाकिस्तानमा पर्यो। एउटै जराका भए पनि राष्ट्रियताका नाममा यी दुई देशबीच विभाजनको सुरुवातदेखि नै सिर्जित तिक्ततामा कहिले पनि कमी आएन। कश्मीर पछिल्लो विवादको केन्द्रमा छ। तर, यस्ता विषयले कमलाको विचारलाई असर गरेन। नेपालमा महिलावादीहरुको सञ्जाल बिस्तारका लागि आएकी कमला भसिनसँग यिनै विषयहरु माथि भावना शर्मा र स्वेच्छा राउतले गरेको कुराकानी :-
तपाईंको जन्म भारतमा भयो। त्यो भूमि अहिले पाकिस्तानमा पर्छ। यी दुई देशबीचको तिक्तताका कारण कश्मीरमा सिर्जित तनावका बारेमा तपाईं के सोच्नुहुन्छ?
जन्म जहाँसुकै भएको होस् हिंसा कतै हुनु हुँदैन। शान्तिको चाहना राख्न कुनै देशको नागरिक हुनुले फरक पार्दैन। म प्रजातन्त्रमा विश्वास गर्छु। यी दुवै प्रजातान्त्रिक राष्ट्रले छलफल गरेर अगाडि बढ्नुपर्छ। तिक्तता, युद्ध, हिंसा समस्याको समाधान होइन। हिंसाले त व्याप्त गरिबीलाई बढाउँछ मात्र। जनतालाई धम्क्याउनु, तर्साउनुले अल्पकालका लागि समस्याको समाधान गर्ला तर दीर्घकालीन उपाय होइन।
कश्मीरले भारत, पाकिस्तान दुवै देशको प्रहार सहनु परेको छ। युद्धको मारमा अरु देशका मानिस पनि परेका छन्। तर, जहिले पनि युद्धभूमिमा पुरुषलाई मात्र पठाइन्छ। युद्ध रणनीति वा आत्मसुरक्षालाई लिएर महिलामाथि विश्वास नगरिएको हो?
राष्ट्रवाद र पुरुषवाद एकअर्कासँग जोडिएका विषय हुन्। कुनै पनि देश जनताको मातृभूमि अर्थात् 'आमा' कहलिन्छ। त्यसको सुरक्षा उसको राष्ट्रवादी 'छोरा'ले गर्छ भनिन्छ। छोरीले किन गर्दैनन् देशको रक्षा? किनकि पहिलेदेखिनै राष्ट्रका लागि लडिने युद्ध पुरुषहरुको जिम्मेवारी मानियो। महिलालाई त निर्देशन दिइयो- तिमीहरु घरभित्र बस। हामी तिमीहरुको रक्षा गर्छौं।