काठमाडौं, भदौ १७ : कोही केबल लामो जिन्दगी बाँच्छन्, कोही भने छोटो जिन्दगीमै अमिट छाप छाड्न सफल हुन्छन्।
अर्को महिना १०१ औं जन्मोत्सव मनाउने तयारीमा रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको जिन्दगी भने लामो मात्रै होइन, भव्य पनि छ।
यति लामो जिन्दगी उनले आफ्ना लागि मात्रै होइन, राष्ट्रका लागि पनि बाँचिरहेका छन्। तब न उनी राष्ट्रकवि!
दुई वर्षअघि आन्द्राको घाउबाट सुरू भएको आन्तरिक रक्तस्रावले ज्यान गलेपछि उनी निस्फिक्री हिँडडुल गर्न सक्दैनन्। भर्याङ उक्लन–ओर्लन पनि उनलाई कसैको साथ चाहिन्छ।
रोग र बूढ्यौलीले शरीर गले पनि उनी निष्क्रिय बसिरहेका छैनन्। सखारै उठ्छन्, नुहाउँछन् र केही लेख्ने प्रयास गर्छन्। पहिले जस्तो कलम समाएर लेख्न बस्ने बित्तिकै कविता फुर्दैन, आजकाल।
लैनचौरस्थित निवासमा उनले काठमाडौं प्रेससँग भने, ‘बाहिर जाऊँ, सक्दिनँ। कविता लेखूँ, पहिले भावना उर्लेर आउँथ्यो, चिन्तन नयाँ–नयाँ आउँथ्यो, अहिले त्यो आउँदैन।’
उनले लगत्तै थपे, ‘तैपनि, म कोशिस गर्छु।’
यो कोशिसमै राष्ट्रकविको जिन्दगीको सार छ। किनकि, उनले कोशिस गर्न कहिल्यै छाडेनन्। कोशिस गर्दा दुःख हुन्छ, तर त्यो दुःखले नै सुख पनि दिन्छ।
जीवनप्रतिको मोह, कर्मप्रतिको आस्था र सकारात्मक सोचले नै राष्ट्रकवि यो उमेरमा पनि प्रेम, प्रकृत्ति र राष्ट्रिय उन्नयनका काव्य रचना गर्न उद्दत छन्।
यति लामो र भव्य जिन्दगी बाँच्ने राष्ट्रकविको परिभाषामा जीवन के हो? यो प्रश्नको उत्तरमा उनी मुसुक्क हाँसे र भने, ‘सुन्दा सरल तर निकै कठिन प्रश्न हो, यो।’