शुक्रबार भाद्र कृष्ण आमावश्या तिथि परेको थियो । पितृतर्पण अर्थात् बाबुको मुख हेर्ने दिन ।
त्यसको भोलिपल्ट माओवादी आन्दोलनको मूलबाटो छाडेर सामाजवादी आन्दोलनको बाटोमा अलमलिन पुगेका डा. बाबुराम भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा फोटोसहित ट्विट गरे– “हिजो बुबाको मुख हेर्ने दिन, आज खोज्दै जाँदा यो फोटो भेटेँ । छोरी मानुषी र म । छोरीहरूको जय होस् ।”
माओवादी आन्दोलन क्रान्तिको बाटो त थियो, तर त्यो हजारौँ नागरिकको फाल्साका फाल्सा रगत जमेको बाटो पनि थियो । लासहरूको उरूङ्ग लागेको, आँसुले गलेको धाप पनि थियो त्यो । गणतन्त्र खोज्न गएका सयौँ योद्धा अझै बेखवर छन् । युद्धसँग साइनोसम्बन्धै नभएका कत्तिलाई युद्धले नै वेपत्ता बनायो ।
तसर्थ ट्विटमुनि सयौँको सङ्ख्यामा आक्रोश र क्रोध भरिएका प्रतिक्रिया आउनु स्वाभाविकै थियो ।
ट्विटरमा ११ लाख फलोअर रहेका डा. बाबुरामलाई नग्माले पनि नियमित पछ्याउँछिन् । डा. बाबुरामलाई नबिराई पढ्छिन् । कहिले उनका विचार पढेर खुसीको सास छाड्छिन्, कहिले अनायास उच्छ्वास उम्कन्छ ।
टाइमलाइनमा जुत्ता धुँदै गरेका डा. बाबुराम र स्टिलको डेक्चीबाट पानी खन्याउँदै गरेकी छोरी मानुषीको धूमिल र समयको कुइनेटोमा कस जमिसकेको फोटो देख्नेबित्तिकै नग्माको दिमाग विदीर्ण भयो । हृदय उद्विग्न भयो ।