कीर्तिमानी मूल्यका ब्राजिलियन फरवार्ड नेयमार अन्तत: फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने भएका छन्।
स्पेनिस महारथीद्वय रियल म्याड्रिड र बार्सिलोनाले उनलाई अनुबन्ध गर्ने औपचारिक प्रस्ताव राखे पनि पीएसजीले अस्वीकार गरेपछि नेयमारले क्लबमै रहने भएका हुन्।
यसैबीच नेयमारले आफ्नो एजेन्ट र परिवारलाई आफू पीएसजी छाडेर अन्यत्र जाने सम्भावना नरहेको बताएका छन्। ट्रान्सफर विन्डोको अन्तिम दिन मात्र बाँकी रहेको अवस्थामा बार्सिलोनाले अब अर्को प्रस्ताव अगाडि सार्ने सम्भावना नभएकाले नेयमार कम्तिमा पनि जनवरीसम्म पेरिसमा रहने भएका हुन्।
युरोपेली खेलाडी सरुवा बजार सोमबार बन्द हुँदैछ। पीएसजीले यसअघि १ सय १८ मिलियन पाउण्डसँगै ईभान राकिटिक र टोडिबोसंग नेयमार साट्ने प्रस्तावलाई अस्विकार गरेको थियो।
नेयमारले आफ्नै तर्फबाट पनि बार्सिलोना जाने प्रयास गरे पनि पीएसजीले प्रस्ताव स्वीकार नगरेपछि उनी क्लबमा रहन बाध्य भएका हुन् ।
यससँगै नेयमारले पीएसजीका लागि अब हुने खेलहरु खेल्ने भएका छन् । प्रशिक्षक थोमस टुचेलले नेयमारको स्थिति प्रष्ट नहुँदासम्म उनलाई टोलीमा आबद्ध नगर्ने भन्दै खेलमा समावेश गरेका थिएनन्।
नेयमारले अब अन्तर्राष्ट्रिय ब्रेकपछि नियमित रुपमा पहिलो टोलीसँग प्रशिक्षण र खेल खेल्नेछन्। यद्यपि च्याम्पियन्स लिग अन्तर्गत समूहको पहिलो खेलमा भने नेयमारले रियल म्याड्रिडविरुद्ध खेल्न पाउने छैनन्।
पिएसजीले सन् २०१७मा उनलाई यही सिजन १ सय ९८ मिलियन पाउन्डमा भित्राएको थियो।
चार सिजन स्पेनमा बिताएका नेयमारले १ सय ८५ खेलमा १ सय १ गोल गरेका थिए । फ्रान्समा दुई सिजन बिताउँदा नेयमारले चार मुख्य उपाधि जितेका थिए । लगत्तै उनले पेरिस छाड्ने निष्कर्शमा पुगेका थिए।