घुँडा धेरै खिएर बिग्रिदा हिँड्डुलमा समस्या हुन्छ, मानिसको जीवन कष्टकर बन्न पुग्छ । मालिस, व्याण्डेज लगायतका उपायले केही राहत पुग्न सक्छ, तर त्यो अस्थायी मात्र हुन्छ । त्यसले समस्याबाट पूर्णतः मुक्ति दिन सक्दैन ।
तर यसको अर्थ यो होइन कि त्यो समस्याबाट मुक्ति नै पाउन सकिन्न । वास्तवमा, विभिन्न कारणहरुले देखापर्ने घुँडाको समस्याबाट छुटकारा पाउने उपायको रुपमा नेपालमै पनि घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ । वास्तवमै भन्ने हो भने जोर्नीमा समस्या भइसकेपछि प्रत्यारोपण एउटा सबैभन्दा भरपर्दो र उत्तम विकल्पको रुपमा विकास भएको छ ।
घेरैलाई थाहा नहुन पनि सक्छ, घुँडा तथा जोर्नीसम्बन्धी समस्या विशेष गरी उमेर बढ्दै जाँदा हुने गर्दछ । जसरी उमेर छिप्पिँदै जाँदा मानिसमा कपाल फुल्ने, छालाहरुम चाउरी पर्ने जस्ता बुढ्यौलीका समस्याहरु देखापर्ने गर्छन्, ठीक त्यसै गरी नै धेरै जसो मानिसहरुमा बुढ्यौलीको आगामनसँगै घुँडा तथा हिपका हड्डीहरु खिइँदै जाने समस्या देखापर्ने गर्छ ।
घुँडासम्बन्धी सामान्य समस्यामा फिजियोथेरापी, जीवनशैलीमा परिवर्तन, औषधी, भिटामिन, क्याल्सियम आदिले काम गर्न सक्छ तर जटिल अवस्थामा भने प्रत्यारोपण नै गराउनुपर्ने डाक्टरहरु बताउँछन् ।
विशेष गरेर उमेरको कारण घुँडा खिइने, घुँडा दुख्ने, घुँडा बांगिने, जोर्नी खिइने तथा नशा च्यापिने समस्या भएका र खेलकुदका कारण घुँडामा चोट लागेका व्यक्तिहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्दछ ।