काठमाडौं, भदाै १४ : दश वर्षे द्वन्द्वकालमा धेरै नेपाली महिला बलात्कारको शिकार बने। कोही माओवादीबाट, कोही सेनाबाट।
त्यो अँध्यारो कालखण्डमा ठ्याक्कै कति महिला बलात्कृत भए? यकिन तथ्याङ्क कोहीसँग छैन।
सङ्क्रमणकालीन न्यायको क्षेत्रमा कार्यरत संस्थाहरूले केही पीडितहरूलाई सघाइरहेका छन्। तर, कतिपय पीडितहरू अझै न्यायको खोजीमा बाहिर आउन सकेका छैनन्। तिनैमध्ये एक हुन् – कालिकोटकी पवित्रा (नाम परिवर्तन)
हालै काठमाडौंप्रेसको सम्पर्कमा आएकी पवित्राले सोधिन्, ‘म्याडम, त्यो बेलाको घटनाको विषयमा अहिले पनि उजुरी दिन मिल्छ र?’
उनले थपिन्, ‘न्यायका लागि कहाँ जानुपर्छ? के गर्नुपर्छ? मलाई केही थाहा छैन। मेरो आफ्नो भन्नु कोही छैन। सुर्खेतमा एउटा दिदी हुनुहुन्छ। उहाँले धेरै सहयोग गर्नुभयो। तर, सधैं उहाँलाई कति दुःख दिनु जस्तो लाग्छ। तपाईँ सहयोग गर्नुहोस् न है, म उजुरी दिन्छु।’
घटना २०५८ फागुनको हो। गते उनलाई ठ्याक्कै थाहा छैन। माओवादीले अछामको मंगलसेन र साँफेमा भर्खरै आक्रमण गरेका थिए।
उनी त्यो दिन गाईवस्तु चराउन घरछेवैको जङ्गल गएकी थिइन्। साथमा उनकी ठूली आमा र छिमेकी भाइ थिए। गाईगोरु चर्दै थिए। उनले कतैबाट बुट बजार्दै केही मानिसहरू आइरहेको सुनिन्।