‘मिडिया! तपाईँहरूले के गर्नुहुन्छ? दिदी बिरामी छे।'
पत्रकार हुँ भन्दै परिचय दिएलगत्तै कानमा बजारिएको चर्को आवाज थियो यो। म केही बोल्न सक्ने अवस्थामा थिइनँ। अँअँअँ भन्दै अकमकाउनुको विकल्प थिएन।
पत्रकार शालिकराम पुडासैनी प्रकरणमा केही कुरा पुष्टि गर्नु थियो। चितवन पुगेर घटनामाथि थप जानकारी संकलन गर्दा पुष्टि गर्नुपर्ने केही सूचना प्राप्त भएका थिए। पुष्टि अन्य व्यक्ति र निकायबाट सम्भव थिएन। शालिकरामकी श्रीमती सम्झना बोलिदिँदा सम्भव थियो।
मनमा अन्तरद्वन्द्व चलिरहेको थियो।
एक मन भन्थ्यो -पीडामा छिन्। फोन गरेर किन थप पीडा दिने। मनमा फेरि कुरा खेल्थ्यो -पत्रकार होस्। आफ्नो धर्म पूरा गर।
के गर्ने के नगर्ने अल्मल्याइरह्यो।
पुष्टि नगरी लेख्न मिलेन। दोमनमै भए पनि औँला मोबाइलतिर पुगिसकेको थियो, नम्बर डायल भयो।
फोन सम्झनाले होइन, उनकी बहिनीले उठाइन्।
सुरुमा मैले आफ्नो परिचय दिइनँ। मैले पाएको नम्बर सम्झनाकै हो कि होइन पुष्टि गर्न लागेँ।
'सम्झनाजी बोल्नुभएको हो?'
उताबाट नरम स्वरमा जवाफ आएको थियो- 'म उहाँको बहिनी। दिदी बिरामी हुनुहुन्छ।'
'उहाँसँग कुरा गर्न मिल्छ?'
'म बाहिर आएको छु। दिदीको मोबाइल केही दिनदेखि मैले नै बोकेको छु। आधा घण्टापछि कल गर्नुहुन्छ?'
'हस्।'
४० मिनेटपछि फेरि मैले फोन गरेँ।
उनैले उठाइन्। तर, उनको नरम स्वर यतिखेर चाहिँ निक्कै गरम भइसेको थियो। कारण अरू केही थिएन। यसपाला मैले आफ्नो पेशागत परिचय दिएको थिएँ।
उनको जवाफ थियो -‘मिडिया मिडिया मिडिया। तपाईँहरूले के गर्नुहुन्छ? दिदी बिरामी छे।'