नेयमारलाई अनुबन्ध गर्न बार्सिलोना सहमति नजिक पुगेको छ । पेरीस सेन्ट जर्मेनबाट फेरि बार्सिलोना फर्किने तयारीमा रहेका नेयमारको विषयमा दुबै क्लव सहमतिको हस्ताक्षर नजिक पुगेका हुन्।
२७ वर्षे नेयमारलाई भित्र्याउन बार्सिलोना लामो समयदेखि प्रयासरत थियो। बार्सिलोनामात्र होइन उनको नाम अरू क्लवहरुसँग पनि जोडिएको थियो। तर अन्तिममा नेयमारले आफू बार्सिलोनाबाहेक अन्त नजाने भनेपछि पीएसजीले नेयमारलाई क्याम्प नोउमा नै पठाउने निर्णयमा पुगेको हो।
सोमबार युरोपियन खेलाडी किनबेच विन्डो बन्द हुनुभन्दा अगाडिनै उनी बार्सिलोना जाने लगभग पक्का भएको छ।
अर्को स्पेनीस क्लव रियलले पनि नेयमारलाई अनुबन्ध गर्न प्रयास गरेको थियो।
२०१७ मा बार्सिलोनाबाट नै दुई सय मिलियन पाउण्डमा अनुबन्ध भएका नेयमारका लागि फेरि पीएसजीले त्यसकै हाराहारीमा रकम मागेको छ। यसका साथै बार्सिलोनाले दुई खेलाडीलाई लोनमा पठाउने भएको छ।
नेयमारले स्पेनमा चार सिजन बिताएका थिए। जसमा एक सय ८५ खेलमा एक सय एक गोल गरेका थिए। फेरि बार्सिलोना जाने भएपछि मेसी, लुइस स्वारेज र एन्टोइन ग्रिजमनसँग टिमअप गर्ने भएका छन्। मेस्सी, स्वारेज र नेयमार मिलेर बार्सिलोनाले २०१४ र १५ मा ला लिगा, २०१५ मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए।