नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साउन ३१ गते बसेको सचिवालय बैठकले ३२ विभागका प्रमुख र उपप्रमुख टुङ्ग्यायो । तर, जिम्मेवारी पाएको दुई साता बितिसक्दा पनि अधिकांश विभाग प्रमुख र उपप्रमुखले आफ्नो विभागीय काम अगाडि बढाउन सकेका छैनन् ।
अहिलेसम्म स्कुल विभागले मात्रै काम अगाडि बढाएको छ । जिम्मेवारी पाएको पहिलो सातामै विभाग प्रमुख ईश्वर पोखरेल, उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले औपचारिक रुपमै कार्यभार ग्रहण गरेर विभागको काम अगाडि बढाएका छन् ।
तर, अन्य विभाग प्रमुख र उपप्रमुख भने अन्यौलमा छन् । कतिपय विभागका प्रमुख र उपप्रमुखको चिनजानसम्म भएको छैन । केही विभाग प्रमुख भने पार्टीको निर्णय कुरेर बसेका छन् ।
विभागको जिम्मेवारी पाएका सचिवालयका अधिकांश नेता नै आफ्नो विभागीय काम अगाडि बढाउन सकेका छैनन् । नेकपाको अन्तरिम विधानले केन्द्रीय विभाग पदाधिकारी सहित ३५ सदस्यीय रहने उल्लेख गरेको छ ।
सोही अनुसार पार्टी सचिवालयले सवै विभागमा तत्कालिन एमालेबाट २० र तत्कालिन माओवादीबाट १५ रहने निर्णय गरेको छ । तर, केही महत्त्वपूर्ण विभागमा आ–आफ्नो भागमा परेको सङ्ख्या भित्रबाट सदस्य छान्न तत्कालिन दुवै पार्टीका नेताहरुलाई सकस परेको छ । विभागको सदस्य बन्ने आकाङ्क्षी धेरै देखिएपछि सर्वसम्मत रुपमा विभागलाई पूर्णता दिन विभाग प्रमुख र उपप्रमुखले सकेका छैनन् । त्यस्ता विभागका सदस्य छान्ने जिम्मा पार्टी नेताकै काँधमा पुगेको छ ।