पहिलो खेलमा हारे पनि लगातार तेस्रो खेलमा जित निकाल्दै नेपाली युवा टोली भारतमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
नेपालले राउन्ड रोविन लिगको अन्तिम खेलमा बिहीबार भुटानलाई ५–० को फराकिलो अन्तरमा हराउँदै फाइनलमा प्रवेश गरेको हो।
कोलकत्तास्थित कल्याणी रंगशालामा नेपाललाई जिताउन कप्तान प्रदीप लम्सालले २, निराजन खत्री, अशिम राई र क्रिस सापकोटा समान १-१ गोल गरे।
खेलको पाँचौ मिनेटमा प्रदीपको पेनाल्टी गोलबाट नेपाललाई सुरूवाती अग्रता दिलाए।
खेलको १४ औं मिनेटमा निराजनले गोल गर्दै पहिलो हाफमा नेपालले २–० को अग्रता लियो। खेलको ४८ औं मिनेटमा कप्तान प्रदीपले अर्को गोल थपे।
अशिमले खेलको ७५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए। सुगमले इन्जुरी समयको गोल गरे पछि नेपालले फराकिलो अन्तरमा खेल जित्यो।
राउन्ड रोविनको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई भारतले ४-० ले हराएपछि नेपालको फाइनल यात्रा सहज भएको हो।
पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलंकालाई २-०, बंगलादेशलाई र भुटानलाई हराउँदै अन्तिम दुईको नजिक पुगेको हो । दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बंगलादेशलाई ४–१ ले पराजित गरेको थियो।
यू १५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन्। सन् २०१३ र २०१७ मा फाइनल पुग्नु नेपालको अहिले सम्मको सफल नतिजा हो। भारत र बंगलादेशले अहिले सम्म समान दुई पटक उपाधि जितेका छन्।