कानुन भन्छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’ तर, के गर्दा दुरुत्साहन मानिन्छ भन्ने व्याख्या छैन
१ भदौ ०७५ देखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ मा पहिलोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा समावेश गरिएको हो । तर, ऐनमा कस्तो अवस्थालाई आत्महत्या दुरुत्साहन भन्ने प्रस्ट व्याख्या नहुँदा अन्योल सिर्जना भएको छ । प्रहरीसमेत अलमलमा छ । आत्महत्या घटनामा जाहेरी परे मात्र मुद्दा दायर गर्ने नत्र चासो नदेखाउने, अनुसन्धान नगर्ने प्रहरीको कार्यशैली देखिएको छ । आत्महत्या गर्ने व्यक्तिले संकेत गरेकै आधारमा निर्दोष पनि मुद्दाको झमेलामा परिरहेका छन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ को उपदफा (१) मा आत्महत्या दुरुत्साहनबारे व्यवस्था छ । त्यसमा ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन’ भनिएको छ । सोही दफाको उपदफा २ मा भनिएको छ, ‘उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिवाना हुनेछ ।’
शालिकरामको आत्महत्याबारे बहस भइरहेकै वेला दुरुत्साहन मुद्दामा कञ्चनपुरमा एक युवा जेल चलान
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सबैको ध्यान केन्द्रित भएको वेला पनि देशभर आत्महत्या भइरहेका थिए । कतै आत्महत्या मात्र भए, कतै उजुरी भए, कोही पक्राउ परे, कतै मुद्दा चले, कति घटना बिलाए । शालिकरामको आत्महत्याले मात्र चर्चा पायो । तर, शालिकरामले आत्महत्या गर्दा र रवि लामिछाने पक्राउ पर्दा बहसको सुरुवात भएको छ ।
शालिकरामको आत्महत्या विषयमा चर्चा चलिरहेकै वेला यस्तै मुद्दामा बुढीगंगा नगरपालिका–२ बाजुराका गणेश थापा पुर्पक्षका लागि जेल चलान भएका छन् । भीमदत्त नगरपालिका–६ ऐठपुर महेन्द्रनगर बसपार्ककी किशोरी लक्ष्मी बुढाले २६ चैत ०७५ मा घरमै विष गरेर आत्महत्या गरेकी थिइन् । उनको प्रेम सम्बन्ध थियो भन्ने आधारमा लक्ष्मीका बाबु मानबहादुर बुढाले गणेशविरुद्ध मुद्दा दिए । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै लक्ष्मीका पिताले थापाविरुद्ध किटानी जाहेर दिए । सोही आधारमा प्रहरीले तीन साताअघि थापालाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । जिल्ला अदालत कञ्चनपुरले थापालाई कारागार चलान गरेको छ । एक वर्षको अवधिमा कञ्चनपुरमा मात्रै आत्महत्या दुरुत्साहनमा १२ मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ ।