नायिक साम्राज्ञी राज्यलक्ष्मी शाह सानैमा होस्टल बसेकी हुन्। त्यो पनि घरभन्दा धेरै टाढा भारतमा। कक्षा एकदेखि उतै पढेकी साम्राज्ञी १२ वर्षमा पहिलोपटक महिनावारी भएकी हुन्।
त्यो बेला उनी ६ मा पढ्थिन्। न आमा, न कोही दिदीबहिनी, आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे बुझाइदिने कोही भएन। महिनावारीका सामान्य जानकारी दिने कोही थिएन। त्यसैले होला, पहिलो महिनावारीमा उनी धेरै आत्तिएकी थिइन्।
'मलाई त्यो बेलासम्म महिनावारी के हो भनेर पनि थाहा थिएन,' साम्राज्ञी भन्छिन्, 'आफ्नो शरीरबाट रगत आएको देखेर निकै डराएँ। नजिकैको दिदीलाई बोलाउन गएँ। मलाई लाग्यो, त्यो कुनै किसिमको रोग हो।'
आमाबुबा कोही नभएको ठाउँमा आफू बिरामी भएको भान उनलाई भयो।
'मैले दिदीलाई बिरामी भएर शरीरबाट रगत आयो भन्दा दिदी हाँस्दै 'तिमी अब महिला भयौ' भन्नुभएको थियो,' उनले भनिन्, 'एक छिन त अकमक्क परेँ।'
साम्राज्ञीले त्यो बेला 'महिला हुनु'को अर्थ बुझिनन्। उनी चिन्तित थिइन्।
यता नेपालमा उनकी आमा छोरी महिनावारी भएको सुनेर खुसी थिइन्। आफ्ना सबै साथीलाई 'छोरी ठूली भएको' सुनाउन थालिन्।
साम्राज्ञीलाई भने महिनावारीलाई सामान्य रूपमा बुझ्न गाह्रो भइरहेको थियो। यही क्रममा यसलाई बहानाका रुपमा लिँदै गइन्।
'महिनावारी बेला ज्यान साह्रै दुख्थ्यो। दिदीहरूले आराम गर्न भन्नुहुन्थ्यो। पछि हरेक महिनावारीमा मलाई स्कुल जान मन लाग्न छोड्यो। कसैले काम अर्हाए पनि महिनावारीकै बहाना बनाएर टार्थेँ।'
उमेर बढेसँगै विस्तारै उनले महिनावारीको अर्थ बुझ्न थालिन्। महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रियालाई उनले सामान्य मान्दै आफ्नो पढाइ र काममा ध्यान दिन थालिन्। महिनावारी बहाना बन्न छाड्यो। खानपिन, सरसफाइ र स्वास्थ्यमा बढी सचेत थिइन्। तर स्कुलको वातावरण देखेर उनलाई अचम्म लाग्न थालेको थियो।
'साइ समुदायको स्कुल पढेको, महिनावारी हुँदा मन्दिर जान नहुने, छुन नहुने जस्ता कुराले मलाई सधैं अचम्म लाग्थ्यो। आखिर महिनावारीमा के छ र त्यसरी मन्दिर जानै नहुने भने जस्तो लाग्थ्यो,' उनले सुनाइन्।