भगवानले पनि जन्म दियो आँखा दिन, भगवानले पन ऽऽऽ
दूधै नलाई कन आमाले मारिनन् किन, दूधै नलाई कन ऽऽऽ
लैजा काल मलाई मन छैन संसारमा रने, लैजा काल मलाई ऽऽऽ
आमा दूध नलाई मार्दिउ भन्ने याद आएन आमा दूध नलाई ऽऽऽ
अछाम तारेखा गाउँको वनपाखामा गुञ्जिरहने यो गीत आजभोलि ‘भ्वाइस आफ नेपाल’को एउटा कोठामा गुन्जिरहेको छ ।
झुप्रीलाई ह्वाइट केन (सेतो छडी) के हो थाहा छैन । गाउँबाटै टेक्दै आएको काठको लठ्ठी छ । त्यसैले काठमाडौंको बाटो खुट्याउँछिन् । बीचबाट सिउँदो काँटेर चिटिक्क एक चुल्थे कपाल बाटेकी छिन् । घाँटीमा तीन वटा पोते छन् । एउटा पहेँलो तिलहरी । तिलहरी ग्यारेण्टी वाला रे । काठमाडौं आउँदा सदरमुकाम मंगलसेनमा किनेको । घाँटीमा टमक्क चाप बाँधेकी छिन् । भन्दैछिन्, ‘चाँप बाँध्न त मन पर्छ नि ! बरु नयाँ कपडा लगाउँनै मन पर्दैन ।’
यतिबेला भने झुप्री रातो रङको फुलबुट्टे नयाँ कुर्ता सुरुवालमा सजिएकी छन् । त्यही कुर्तामा उनी दुई हप्तादेखि भ्वाइस अफ नेपालको बन्द प्रशिक्षणमा छिन् ।
र, पनि झुप्रीलाई बाँच्नै मन छैन । किन ? यसको जवाफ उनीसँग होइन उनको समाजसँग छ । जुन समाजमा उनले अपमान, घृणा र तिरस्कार पिउँदै जीवनको ३० वर्ष बाँचिन् ।