बंगलादेशमाथि नेपालको शानदार जित, फाइनल पुग्ने सम्भावना बलियो

गोलपछि खुसी मनाउँदै नेपाली खेलाडीहरू। तस्बिरः एजेन्सी

भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि सानदार जित निकालेको छ।

भारतको कल्याणीमा मंगलबार नेपालले साबिक विजेतासमेत रहेको बंगलादेशलाई ४-१ गोल अन्तरले हराउँदै प्रतियोगितामा दोस्रो जित निकाल्यो।

नेपाललाई जिताउन क्रिशन अधिकारी यादवले दुई गोल गर्दा सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे। बंगलादेशका मियाँले एक गोल फर्काएका थिए।

यो जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दोस्रो जितसँगै नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावनासमेत कायमै राखेको छ।

तेस्रो स्थानमा झरेको बंगलादेशको पनि ३ खेलबाट ६ अंक छ।

अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ।  यदि नेपालले भुटानलाई बिहिबार हराएको खण्डमा दोस्रो स्थानमा पुग्ने सम्भावना हुन्छ। नेपालले भुटानलाई हराएमा सोही दिन हुने अर्को खेलमा भारतले बंगलादेशलाई हराए नेपाल र भारत फाइनलमा पुग्नेछन्।

तर बंगलादेशले भारतलाई हराएको खण्डमा भने नेपालले भूटानलाई राम्रो गोल अन्तरमा हराउनुपर्नेछ।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो। तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २-० ले हराएको थियो ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन्।

फाइनलमा आगामी शनिबार कल्याणी रंगशालामा हुनेछ।

प्रकाशित मिति: : 2019-08-27 17:38:38

प्रतिकृया दिनुहोस्