काठमाडौं- निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद-बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको निर्णय आज सुनाइँदै छ।
तेस्रो पटक मिति सार्दै गत भदौ ५ गते सर्वोच्चले उक्त मुद्दाको निर्णय सुनाउने मिति आजका लागि सारेको थियो।
यसअघि दुईपटक फैसला लेखनको समय नपुगेको भन्दै पूर्ण इजलासले पेशी सारेको थियो। सर्वोच्च अदालतले साउन २१ गते निर्णय सुनाउने भने पनि त्यस दिनबाट साउन ३० गतेलाई सारेको थियो। साउन ३०पछि फेरि भदौ ५ गतेका लागि सारिएको मिति तेस्रोपटक सरेको थियो।
न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ गरेका थिए।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको ५ सदस्यीय बृहत् पूर्ण इजलासले २०७५ माघ २३ गते एनसेलले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो। कर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री अनुमति नदिनु भन्ने पूर्ण इजलासले परमादेश जारी गरेको थियो।