पुरानो डायरी पढ्दाको आफ्नै मजा हुन्छ । केही वर्ष अगाडि आफैँले लेखेका कुराले हामी अचम्मित हुन्छौँ र त्यो समयसँग तुलना गर्दा आफूमा ठूलो फरक पाउँछौँ । यसैगरी द गार्जियनकी ब्रिगिड डेलेनेले पनि १९९६ मा आफूले लेखेका पुराना पानाहरु पल्टाउँदा त्यसले उनलाई जीवनबारे धेरै कुरा सिकाएको उनी बताउँछिन् ।
उनले भनेकी छन्, “प्रायः मानिसहरुलाई आफ्नो बोलीको अडियो सुन्न पनि असहज हुन्छ र आफूले लेखेका कुराहरु पढ्दा पनि हामीलाई पहिले त झट्का नै लाग्ने गर्छ । विगतमा म यस्तो सोच्थेँ भन्ने कुराले हामी धेरै दङ्ग पर्छौँ र कति अवस्थामा त आफैँलाई चिन्न सक्दैनौँ । यस्ता कुरा लेख्ने, यस्तो भन्ने के म नै थिएँ भन्ने लाग्न सक्छ ।” यसरी २३ वर्ष अगाडिको डायरी अहिले पढ्दा डेलेनेले त्यसमार्फत जीवनबारे सिकेका कुराहरु यस प्रकारले व्याख्या गरेकी छन्ः
कमी कमजोरी सधैँ रहिरहनेछ
जीवन एकदिनकै हुन्छ
हामीले बिताउने प्रत्येक दिन हाम्रो जीवन हो । यसरी विगतका ठुला क्षणहरु फर्केर हेर्दा, बितेका दिनहरुलाई हामीले कसरी वर्णन गरेका थियौँ भन्ने पढ्दा हामीलाई त्यो समयमा आफू हुनुको अनुभव याद आउँछ । तर यसबीच हामीले हाम्रा साधारण दिनहरु चाहिँ बिर्सिरहेका हुन्छौँ । हामीले के खान्थ्यौँ, कोसँग हुन्थ्यौँ, खालि समय कसरी बिताउथ्यौँ, कति बजे उठ्थ्यौँ, टीभीमा के हेर्थ्यौँ, कुन किताब पढ्थ्यौँ जस्ता सामान्य क्षणहरु पनि पछि गएर हामीलाई अत्यन्तै नौलो र रमाइलो लाग्छ । ती खुसीका दिनहरु याद गर्दा पुनः तिनै दिनमा फर्किन मन लाग्छ । यसरी जब हामी बूढो र अशक्त अवस्थामा पुग्छौँ, ती समयका एक दिनले पनि हामीलाई नया जीवन र खुसीको अनुभूति दिलाउन सक्छ ।
साथीहरु आउँछन् जान्छन् ठीकै छ
२३ वर्षदेखिको डायरीलाई सतहबाट हेर्दा त्यहाँ सबैभन्दा चहलपहल हाम्रा वरपरका मानिसको देखियो । साथीहरु जीवनमा आउने जाने क्रम कहिल्यै रोकिँदैन । एकदम कम मित्रता मात्र अन्तिमसम्म स्थिर रहन्छन् । यसरी कुनैसमय आफ्नो जीवनको केन्द्रमा रहेका मानिसहरु पछि हराउँदै गएको हेर्दा वास्तवमै आश्चर्यजनक लाग्छ । त्यस्तै आफूले अस्थायी सम्बन्ध राख्न चाहेका व्यक्तिहरुको महत्व बढ्नुले पनि हामीलाई अचम्मित पार्न सक्छ । त्यसैले मान्छेको आउने जाने क्रम सतहबाट हेर्दा नृत्य गरिरहेको जस्तो लाग्दछ र त्यसप्रति हाम्रो गुनासो पनि घट्दै जान्छ ।
आफ्ना पीडाहरुका बारेमा पढ्नु अझै पनि पीडादायी हुन्छ
डायरी धेरैका लागि आफ्नो भावना पोख्ने साधन बनिरहेको हुन्छ । ती भावहरु सार्वजानिक रुपमा हेर्दा नराम्रा र कच्चा लाग्न सक्छन् र त्यो समयमा हामी तिनैमा बढी विश्वास गर्ने गर्छौँ । तर वास्तवमा भावना पनि समयसँगै हराउँदै जान्छ । यसरी कुनैसमय हाम्रा निम्ति अकल्पनीय पीडाका रुपमा रहेका क्षणहरु पढ्दा फेरिपनि नरमाइलो लाग्छ । हामीले अहिले ती भावका गहिराइ बिर्सिएपनि ती सम्झनाले हामीलाई जथाभावी विश्वास र प्रेम कहिल्यै गर्नुहुँदैन भनेर फेरि पनि चेतावनी दिन्छ ।