तनहुँ - रेवती आलेमगर (५८ वर्ष) व्यास नगरपालिका–५ मानहुँमा २०३२ सालदेखि बस्न थालेकी हुन्। १४ वर्षमै विवाह भएर घर सम्हाल्न मानहुँ उक्लेकी उनलाई सुरुताका घर चिन्नै मुस्किल थियो। ‘बिहे भएको केही दिनपछि घाँस बोकेर फर्किंदै थिए, झुक्केर अर्कैको घरमा छिरेछु,’ विगत सम्झँदै रेवतीले भनिन्, ‘चारैतिर गुजुमुज्ज परेका घुमाउने घर, सानो गोरेटोबाट भित्रिनुपर्ने, आफ्नो ठानेर अर्कैकोमा छिरेछु। पछि बल्ल आफ्नो घर चिनेर फर्किएँ।’
रेवती अहिले पनि त्यही गाउँमा बस्छिन्। तर उनलाई झुक्याउने कुनै घर त्यहाँ बाँकी छैनन्। बरु उनी एक्लिँदै गएकी छन्। रेवतीले विवाह गरेर गाउँ पुग्दा मानहुँको त्यो बस्तीमा ७० घर थिए, अहिले जम्मा सात घर छन्। ती पनि कति बेला भत्किने हुन्, असाध्य जीर्ण छन्। तर पनि जसोतसो मान्छे बसेका छन्।
‘यहाँ सबै घुमाउने घर थिए। म विवाह गरेर आउँदा ७० घर थिए,’ रेवतीले विगत सुनाइन, ‘अहिले त एक्लै पो हुन थालेकी छु। हिजोका घुमाउने घरको अहिले नामनिसानै छैन। सिंगो बस्ती नै झाडीमा हराइसकेको छ। जसोतसो अडिएका घर पनि जीर्ण छन्। कुन बेला भत्किने हुन् भन्ने अवस्था छ। तर पनि बुढाबुढी बसेका छन्।’
गृहिणीहरु राति १ बजे नै पानीका लागि मुहान जान सुरु गर्थे। मध्यरातमा पानी बोक्न हिँडेका गृहिणीले चप्पल बालेर उज्यालो बनाँउदा गाउँ नै झिलिमिली देखिन्थ्यो। तर यो कष्ट सहन नसकेपछि बिस्तारै गाउँ रित्तियो ।
उनी अहिले घरमा एक्लै बस्छिन्। दुई छोरा बेसी (तनहुँ सदरमुकाम दमौलीनजिकै) बस्छन्। छोरी विवाह गरेर गइन्। पति बिरामी परेर बेसीमै झरेका छन्। ‘सबैजसो छिमेकी बेसी झरिसके, मचाहिँ जसोतसो गाउँमै अडिएकी छु,’ उनले भनिन्, ‘जाने ठाउँ त थियो तर मन मानेन, यहींको बसाइ प्यारो लाग्छ। फेरि चटक्कै घरबारी छाडेर हिँड्न पनि मिलेन।’
व्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार बाजेको पाला (झन्डै पाँच दशकअघि) सम्म मानहुँ क्षेत्रमा झन्डै ७ सय घर थिए। मानहुँको डाँडामा मात्र ७० घर थिए। पछि सबैजसो गाउँले बसाइँ सरे। अधिकांश दमौलीनजिकैको पाटन झरे, केही दमौलीभन्दा बाहिरै गए। गाउँ रित्तिनुको मूल कारण थियो– खानेपानीको चरम अभाव।
‘खानेपानी समस्याले गर्दा मानहुँमा बस्ती टिकेन। बाजेका पालासम्म बाक्लो बस्ती थियो तर पानीको चरम अभावले गाउँ नै बसाइँ स¥यो,’ श्रेष्ठले भने, ‘अहिलेको जत्तिको विकास त्यो बेला कसैले सोचेका पनि थिएनन्। हिँडेर गाउँ उक्लिँदा घन्टौं लाग्थ्यो, चुचुराको त्यो बस्तीसम्म सहज पहुँच थिएन। अनि पानीको समस्या उस्तै थियो।’ श्रेष्ठका अनुसार त्यो बेला पनि पानीको अभाव त उस्तै थियो तर गाउँलेले जसोतसो गाग्रोमा बोकेरै काम चलाएका थिए। अहिलेसम्म पनि त्यो समस्या सुल्झेको छैन। ‘पानी अभाव त अहिले पनि उस्तै छ। तर अहिले बस्ती कम भएपछि संकलित अकासे पानीले पुगेको छ,’ उनले भने, ‘बाजेका पालामा पानी बोकेरै पु¥याएका थिए। सबैभन्दा बढी समस्या डाँडाका बासिन्दालाई थियो र अहिले पनि छ।’