साहित्य भनेको कुनै वैचारिक दस्तावेज होइन, जसबाट कुनै सिद्धान्तको स्थापना गरियोस्। यो त मानिसको जीवनको एउटा प्रतिबिम्व हो।
समालोचनाका नयाँ पुराना कैयौं सिद्धान्तले साहित्यलाई कहिलेकहीँ निर्देशित पनि गर्न खोज्छन् तर लेखन आफैंमा एउटा फरक चिज भएकाले यसले सधैँ निर्देशनहरूको अवज्ञा गर्दछ। यदि साहित्यले जीवन वा समाज जे नै लेखे पनि आखिर त्यहीँको भोगाइ लेख्ने हो । समाजको बनावट, संस्कृति, राजनीति र त्यसले मानिसको व्यक्तिगत वा सामूहिक जीवनमा पारेको प्रभाव नै लेखिने हो। अनि यदि समाज वा व्यक्ति सधँै समस्यामा छ र, ऊ हाँस्न नसक्ने अवस्थामा छ भने साहित्यमा हाँसो कसरी लेख्न सकिएला म बुझ्दिनँ।
नेपाली समाज युगौंदेखि सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भाषिक, क्षेत्रीय, लिंगीय आदि अनेक आधारगत विभेदहरू बोकेर आएको छ। यी विभेदहरूका कारण मानिस व्यक्तिगत वा सामूहिक रूपमा दमित र हीनग्रन्थीले ग्रसित रहेको अनुभूति बोकिरहेको हुन्छ। यीमध्ये कुनै न कुनै कारण मानिसलाई एक्लै बन्न प्रेरित गरिरहने माध्यम बन्छन् र, यस्तो एकान्तता भनेको निराशा र पलायन मानसिकताको स्रोत बन्दछ।
हाम्रो मनोवैज्ञानिक बनावट नै रोदनीय छ। छोरा वा लोग्ने परदेश जाँदा होस् वा आफन्त, छिमेकी बसाइँ जाँदा होस्, छोरी बिहे गरेर घर पठाउँदा होस वा मागेजति दहेज दिन नसकेका कारण छोरीमाथि भएको ज्यादती चुपचाप सहन गर्नु पर्दा होस्। पहिला झर्ने आँसु नै हुन्। निर्आवास भोक, रोग, गरिबी, अशिक्षा, शोषण, जस्ता अभावसँग जुध्दै मर्ने नेपाली जीवनको कथा सधैँ आँसुको सनातन अभ्यासमा छ।