“पश्चिमी मकवानपुरको सिलिङ्गेमा विशुद्ध मह पाइन्छ ! ‘ब्रान्डिङ’ गर्न सके त्यहाँका चेपाङहरूलाई पनि फाइदा पुग्थ्यो, हाम्रो उद्यमशीलताको विकास पनि हुन्थ्यो !”
२०७५ मङ्सिरको एक दिन यो कुरा विभूति न्यौपानेलाई निमेष कर्माचार्यले पुलकित हुँदै सुनाएका थिए । निमेष फूर्तिला थिए । उद्यमशीलतालाई नयाँ आयामबाट सोच्ने कर्माचार्यले देशका विभिन्न भागमा उत्पादित वस्तुमा आँखा लगाएका थिए । र, उनको ध्यान खिचेको थियो– चेपाङवस्तीको महले ।
निमेषको कुराले विभूतिको पनि ध्यान तान्ने नै भयो । लम्जुङमा जन्मिए पनि काठमाडौंमै हुर्किएकी विभूतिको दिमागमा चेपाङबारे अलग्गै बिम्ब बनेको थियो । मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाका कुना–कन्दरा, खोल्साखाल्सी र ओढारमा सीमान्त जीवन बिताइरेका चेपाङहरूले मह उत्पादन गर्छन् भनेर उनलाई सुरूमा पत्याउनै कठिन भयो ।
पर्वतमालाको विकट पाखा–पखेरामा विपन्न र निम्छरो जीवन बाँचिरहेका चेपाङ अभावका बिम्ब हुन् भन्ने उनलाई थाहा थियो । तर ती उद्यमशीलतासँग जोडिन सक्छन्, उनीहरूको शिल्पले उत्पादन गरेको महले बजार लिन सक्छ भनेर विभूतिले कल्पना पनि गरेकी थिइनन् ।
पश्चिमोत्तर मकवानपुरको राक्सिराङ पुगेपछि उनका आँखा छ्याङ्ङै खुले । दिमागमा जकडिएर रहेको बिम्ब तुरुन्तै प्रतिस्थापन गरिन् । र, अलग्गै अठोट पनि गरिन् । राक्सिराङ–६ सिलिङ्गे पुगेपछि सुरूमा उनी भावविह्वल भइन् । पुसको आँतै ठिहि¥याउने ठण्डीमा उनी राक्सिराङ उक्लिएकी थिइन् । चेपाङ बालबालिकाको आङमा एकधरो लुगा थिएन । तिनका पैताला गरिबीको धापमा भासिएका थिए । किशोर उमेरमा पाइला राख्न नपाउँदै आमा बन्न अभिशप्त दीनहीन महिला क्षितिजतिर टोलाइरहेका थिए । उनीहरूको आँखामा दुःखको समुद्र छचल्किइरहेको थियो । अनु्हारमा अभावको आँधी मडारिइरहेको थियो ।
विभूतिले ती आमाहरूको काखमा निदाइरहेका शिशुहरूको आँखामा नियालिन् । गन्तव्यहीन भविष्य र शून्य वर्तमानबाहेक केही देखिनन् । विभूतिलाई पीडाबोध भयो । ती चेपाङको गन्तव्यशून्य भविष्य देखेर होइन, आफ्नो ‘सुख–सयल’ सम्झेर ।
विभूतिले गरिबीले थिल्थिल्याएका राक्सिराङका डाँडाकाँडा एकसरो नियालिन् । पाखा–भित्तामा आँखा पुर्याइन् । चेपाङहरूको रछ्यान, आँगन पनि हेर्न छुटाइनन् । वास्तवमा ती विपन्न थिएनन् । गरिबीको मानक मान्न सकिँदैनथ्यो तिनलाई । ती त पैसामा ‘विनिमय’ गर्न नसकिएको ‘वस्तु’ थिए ।
चेपाङका करेसाबारी, रछ्यान, कर्मजीवी मौरीहरूको साङ्गीतिक भुनभुनाहटमा निमग्न थियो । घरनजिकै चिउरीको बोट । चिउरीको बोटको आडमा लस्करै मौरीको घार सजिएको थियो । ‘अमृत’ उत्पादन गर्ने बस्ती गरिबीको आहालमा डुबुल्की मारिरहेको देख्दा को भावुक नबन्ला र ! त्यही थलोमा बसरेर विभूतिले चेपाङको श्रम, सीप र ज्ञानलाई उद्यमको रूप दिने सङ्कल्प गरिन् ।