१६ महिनापछि वार्नर, क्यामरून र स्मिथ टेस्ट टिममा फर्किए

तस्बिरः एजेन्सी

एजबस्टन । अस्ट्रेलियाका तीन स्टार क्रिकेटर डेभिड वार्नर, क्यामरुन बेनक्राफ्ट र स्टिभ स्मिथ प्रतिबन्धको १६ महिनापछि टेस्ट क्रिकेटमा फर्किएका छन्।

शुक्रबारदेखि इंग्ल्यान्डको एजबस्टनमा सुरु भएको एसेजको पहिलो टेस्टमा यी तीन खेलाडी नै कंगारु टोलीमा समावेश थिए।

बल बिगारेको आरोपमा प्रतिबन्ध भएका वार्नर, क्यामरुन र स्मिथलाई शुक्रबार मैदानमा उत्रिँदा इंग्लिस समर्थकले जिस्क्याउन बाँकी राखेनन्।

अस्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले टस जितेर पहिलो ब्याटिङको निर्णय गरेका थिए। अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन। प्रारम्भिक ब्याट्सम्यान वार्नर र क्यामरुन छिट्टै आउट भए। ख्वाजा पनि आउट भएपछि अस्ट्रेलियाले छिट्टै तीन विकेट गुमाएको थियो।

वार्नर (२) र क्यामरुन (८) आउट भएपछि दर्शकहरूले सेन्डपेपर देखाएर उनीहरूको मजाक उडाएका थिए। दर्शकहरूले स्मिथको रुईंरहेको मुखौटा लगाएर उनलाई बढी नै उद्देलित बनाउन खोजेका थिए।

प्रकाशित मिति: : 2019-08-02 08:01:40

प्रतिकृया दिनुहोस्