यो आलेखको शीर्षक पढ्दा कतिपयलाई अनपेक्षित जस्तो लाग्न सक्छ तर जसै–जसै शब्द र वाक्यको अन्तर्यमा प्रवेश गर्नुहुने छ, तब फुर्सदवादले तपाईंलाई पनि बेफुर्सदी बनाइदिएको अत्तो–पत्तो नै पाउनुहुने छैन । अनि तपाई स्वयं भन्नुहुनेछ, ‘आ ! यो आलेख हतारमा पढेर मजै भएन, फुर्सद् निकालेरै पढ्नुपर्ला जस्तो छ ।’ अहिलेलाई यति भनौँ, यो आलेख पढुञ्जेल तपाईसँग फुर्सद् सायदै हुनेछ ।
फुर्सद शब्द आफैंमा स्फूर्तिदायक सुनिन्छ किनकी आधुनिक भागदौडको जीवनशैली धानिरहेका हामी नेपालीको मुखमा ‘यार ! म अलि बिजी छु है’ भन्ने टर्मिनोलोजी एउटा आम उपयोगको बोली बनेर समाजमा स्थापीत भैसकेको छ । अनि म बिजी छु भनिरहँदा त्यो बोलीमा थोरै आफ्नो पोजिसन र बढी पीडा झल्किरहेको हुन्छ । हुन त अस्तव्यस्ततामा अभ्यस्त भएका हामी नेपालीहरूका लागि ‘म ब्यस्त छु है’ भन्न पाउनु पनि एउटा सौभाग्य नै हो भन्ठान्छु म ।
यो कुरा बेग्लै हो कि टाईम पास गरौं भन्ने हेतुले तासको खालमा निष्ठासाथ जुटेका युवाहरूमा रहेको त्यागको भावना भनेर भनीसाध्य छैन । ऊर्जाशील समयलाई त्याग गरेर आफ्ना स्वर्णीम सपनाहरू सहिद बनाउन कोही नेपाली युवाहरूबाट सिकोस् । चोक–चोकमा, चौतारामा, टहरामा, घरमा, अनि घरघरमा यत्र–तत्र सर्वत्र, देशैभरी युवाहरू तासमा जुटेको देख्दा के घर के डेरा भनेजस्तै के फुर्सद के व्यस्तता भन्ने कुरामा कन्फ्युजन समेत पैदा हुन सक्छ ।
शीर्षक के छ, तर कुरा चाहिँ के हुँदैछ भन्ने अनुभूति तपाईलाई पनि यदि हुन थालेको हो भने तपाईं अब ढुक्क हुनुस् यो आलेखको शीर्षकमा अब तपाईंको कुनै पनि आपत्ति वा फरक मत बाँकी रहने छैन ।
हाम्रा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ईन्जोय’ गर्दै आउनुभएको फूर्सदको विषयमा दुईचार कुरा लेख्ने हुट्हुटीले मलाई आजदेखि लखेटेको हैन, तर यो हुट्हुटीले मलाई चैन हुनै नदिएपछि नलेखेर धरै पाईन । नलेख्नु, लेख्नै परेपछि अलि ‘अथेण्टिक’ होस् भन्नको लागि मैले एउटा हैन दुई–दुईवटा नेपाली शब्दकोष पल्टाएँ । नेपाली शब्दसागर र नेपाली बृहद् शब्दकोष । नेपाली शब्दसागरमा फुर्सद शब्दलाई कामकाजबाट खाली रहेको बेला, कामकाज नभएको बेला, अवकास, फुर्सत, रित्तो समय, शून्य समय भनेर अथ्र्याइएको रहेछ । त्यस्तै नेपाली बृहद् शब्दकोषमा फुर्सत, अवकास भनी उल्लेख गरिएको छ ।
वि.सं.२०४६ को राजनैतिक परिवर्तन पश्चात् नेपालमा आजको जत्तिको शक्तिशाली सरकार अर्को कुनै थिएन । यत्तिको जनअनुमोदित सरकार त नेपालको इतिहासमै थिएन । २०१५ सालको चुनावबाट दुईतिहाई ल्याएर उदाएको बीपी कोईराला नेतृत्वको सरकारसँग समेत यति धेरै बहुआयामिक विश्व सम्बन्ध, सक्रिय जनसमर्थन र सचेत जनताको निरन्तर निगरानीको सार्थक अवसर उपलब्ध नभएको कुरा जो कसैले आँकलन गर्न सकिने बिषय हो तथापि प्रधानमन्त्री स्वयं ‘फुर्सद भाव’ मा निर्लिप्त भएकै कारण आम जनताले नभएको फुर्सद समेत निकालेर सरकारका अनेकौं उट्पट्याङ्ग विरूद्ध सडकमै ओर्लनुपर्ने परिस्थिति सृजना भएको त देखिरहनु नै भएको छ । प्रधानमन्त्रीज्यूको फुर्सद भावका अनेक अभिव्यञ्जनहरू गम्न सकिन्छ । उहाँले, मौखिक रूपमा आफू असाध्यै व्यस्त भएको बताइरहनु अनि काम भन्दा धेरै बढी कुरा मात्र गरिरहनु भनेको ‘फुर्सद भाव’ लाई पर्दा हाल्ने एक निम्छरो प्रयत्न भन्दा बढी केहिपनी नभएको सहजै बुझ्न सकिन्छ । प्रधानमन्त्री ओलीले धेरै लामो समय जेलमा बन्दी जीवन बिताउनु भएको छ, प्रधानमन्त्री ओलीका सहकर्मी कमरेड राधाकृष्ण मैनालीद्वारा लिखित पुस्तकको आधार लिएर भन्ने हो भने पनि प्रधानमन्त्री ओली, जेलको त्यो कष्टकर बसाईको क्षणमा आफूलाई सहज तुल्याउन आफ्नो मनस्थितीलाई ‘फुर्सद भाव’ मा राखेर बस्नुहुन्थ्यो भन्ने मेरो ठम्याई छ ।
हाम्रो प्रधानमन्त्री रमाईलो स्वभावको हुनुहुन्छ, उहाँमा गजबको ‘सेन्स अफ ह्युमर’ छ भन्नेहरूको संख्या समेत अत्याधिक छ तर हरेक भेटघाट, हरेक वार्ता र हरेक भाषणमा मान्छेहरूलाई हँसाउने वहाँको बानीको बारेमा भने मेरो नितान्त फरक धारणा छ । मेरो बुझाईमा प्रधानमन्त्री ओलीले मान्छे हँसाएको हैन अपितु, वहाँ स्वयंले ईन्टरटेन गरेको हो किनकी कमजोर स्वास्थ्य भएका प्रधानमन्त्रीलाई हास्य चिकित्साको महत्व राम्ररी थाहा हुनुपर्छ । वहाँको हरेक भाषणमा म हास्यरस र फुर्सद भावको अद्भुत सम्मिलन र समिश्रण भएको महसुस गर्छु । आदरणीय पाठकबृन्दले समेत, ख्याल गर्नुहोला भन्दै प्रधानमन्त्रीज्यूले गर्ने ढाँचाको एउटा भाषणको नमूना यहाँ प्रस्तुत गरिरहेको छु जहाँ प्रधानमन्त्रीका फुर्सद भाव मुखरित भएर आएको जो कोहिले सहजै अनुभव गर्न सक्नुहुने छ ।
….‘म भन्न चाहन्छु । अब यो देश, अब यो मुलुक, अब यो राष्ट्र, अब यो हाम्रो मातृभूमि अर्थात् नेपाल । अब समृद्धिको यात्रामा, विकासको यात्रामा, निर्माणको यात्रामा, प्रगतिको यात्रामा, परिवर्तनको यात्रामा, रूपान्तरणको यात्रामा निरन्तर बढिरहने छ, हिंडिरहने छ, दौडीरहने छ, उडिरहने छ । नेपाली जनताले अब शंका नगरे हुन्छ, सन्देह नगरे हुन्छ, अविश्वास नगरे हुन्छ । ढुक्क भए हुन्छ, विश्वस्त भए हुन्छ, आश्वस्त भए हुन्छ, निर्धक्क भए हुन्छ किनकी यो देश, यो राष्ट्र, यो मुलुक अहिले बलियो हातमा छ, मजबुत हातमा छ, शक्तिशाली हातमा छ, दह्रो हातमा छ । त्यसैले म फेरि पनि भन्न चाहन्छु ‘कागले कान लग्यो’ भन्दैमा त्यो कालो कागको पछाडी दौडन छोड्नुस् । छोड्नुस् दौडन । पैले आफ्नो कान छाम्नुस् । कान त ठेगानमै छ भन्ने थाहा पाएपछि तपाईं त्यो कालो कागको पछि दौडनु हुन्न त्यसैले म सबैलाई भन्न चाहन्छु समृद्ध नेपाल : सुखी नेपालीको यो महाअभियानमा, महायज्ञमा, महाप्रयत्नमा, महाकर्ममा, महासंकल्पमा येल्ले, उल्ले, तेल्ले केहि पनि नभनी हरेकले, प्रत्येकले, सबैले, सम्पूर्णले एकजुट भएर, एकताबद्ध भएर, एकठाउँमा आएर, एक आवाज बनाएर मलाई सहयोग गर्नुस् । यो सरकारलाई सहयोग गर्नुस् किनकी यो तपाईंहरूकै सरकार हो ।’