नेपाल र भारतबाट गएका एक हुल सञ्चारकर्मी वेइजिङस्थित चाइना तिबेटोलोजी अनुसन्धान केन्द्रको सभाकक्षमा प्रवेश गर्छन् । २९ असारको त्यो बिहान सञ्चारकर्मीको हुल पुग्नुअघि नै केन्द्रका निर्देशक प्रा. झा लाउ तिब्बत मामिलाका जानकार प्राध्यापकद्वय जिओ ली र लियाङ जुनयाङलाई दाँया–बाँया राखेर बसेका हुन्छन् ।
आधा घण्टादेखि सञ्चारकर्मीको प्रतिक्षामा रहेका तिब्बती मूलका निर्देशक झाले साथमा एकजना दोभाषे पनि राखेका छन् । उनी एकसातादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा र तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेका प्रमुख स्थान घुमेर फर्केका सञ्चारकर्मीको प्रश्नको चोटिलो जवाफ दिने सम्पूर्ण तयारी गरेर बसेजस्तो लाग्छ ।
प्रश्नः चीनको स्वशासित क्षेत्र तिब्बतमा हान समुदायको जनसंख्या ह्वात्तै बढेको देखिन्छ । स्थानीयलाई नै अल्पमत पार्ला कि जस्तो गरी तिब्बतमा मुख्यभूमिको जनसंख्या यसरी ओइरिनु उचित हो ?
जवाफः यस्तो प्रकृतिको प्रश्न हामीले विगतमा पनि पश्चिमी सञ्चार माध्यमबाट सुन्दै आएका छौं । कुरा के हो भने एउटा सार्वभौम देशभित्र एक स्थानबाट अर्कोमा बसाइँ सर्नु नितान्त कानूनी कुरा हो । संसारका जुनसुकै देशमा आफ्ना नागरिक एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहेका हुन्छन् । तिब्बतमा ९० प्रतिशत जनता स्थानीय छन् । हामीले के बिर्सनु हुँदैन भने तिब्बतमा एउटै जनजाति समूहको बाहूल्य रहँदै आएको छ ।
प्रश्नः पछिल्लो समय नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बनेको बताइन्छ । के यो सत्य हो ? यदि हो भने यसो हुनुको कारण के हो ?
जवाफः नेपाल र चीनबीचको सम्बन्ध विगतमा पनि खराब थिएन । खराब थिएन भनिसकेपछि विगतको भन्दा राम्रो कि नराम्रो भनिरहनै परेन । भौतिक पूर्वाधार तथा आर्थिक सहयोगचाहिँ बढेको हुन सक्छ । प्रश्नः चीन तिबेटोलोजी रिसर्च सेन्टरले तिब्बतको सुक्ष्म अध्ययन गर्दै आएको छ । तपाईहरूले तिब्बतका जनताको राजनीतिक सन्तुष्टिको अवस्था कस्तो छ भनेर कुनै अध्ययन वा रिसर्च गर्नुभएको छ ? जवाफः राजनीतिक सन्तुष्टिको तह मापनको कुरा चीनमा लोकप्रिय मानिँदैन । यसलाई सामान्य अभ्यासको रुपमा पनि लिइँदैन । ल्हासा वा तिब्बतलाई यो छुट हुने कुरै छैन ।चिनियाँ प्राध्यापकहरूको यस्तो सिधा–सिधा जवाफ नेपाल र भारतबाट गएका सञ्चारकर्मीहरूको अपेक्षाभन्दा विल्कुलै फरक थियो ।
तिब्बतको संस्कृति, इतिहास र वर्तमान अवस्थाबारे अध्ययन गर्न सन् १९८६ मा स्थापित अनुसन्धान केन्द्रका प्राज्ञहरूले घुमाउरो जवाफ देलान् भन्ने हाम्रो अनुमान थियो । तर, उनीहरूले जिब्रो नचपाई जवाफ दिए ।
बोलक्कड बेइजिङ
झट्ट सुन्दा सामान्य लाग्ने यी अभिव्यक्तिहरू कुनैबेला ‘सफ्ट पावर’ कुटनीतिका लागि चिनिने चीन पछिल्लो समय ‘भोकल’ बन्दै गएको छ भन्ने तर्क गर्नेहरूलाई बल दिने खालको छ । सन् १९९० को मध्यसम्म पनि बेइजिङको कुटनीति ‘भोकल’ मानिँदैनथ्यो । खासगरी सन् १९८९ को तिनानमेन स्क्वायरमा भएको संहारले कुटनीतिक क्षेत्रमा चीनलाई विश्वसामु रक्षात्मक अवस्थामा पुर्याएको थियो । दशौं हजार विद्यार्थी उपस्थित आन्दोलनमा सेनाको हतियारवद्ध ट्याङ्करले दमन गरेपछि विश्वमञ्चमा चीनको चर्को आलोचना भयो ।