नन्दु ज्ञवाली। उमेर, २४ वर्ष। ज्ञवाली थर देख्दा धेरैलाई लाग्दो हो - गुल्मीतिरकी। उनी गुल्मेली होइनन्। अझ नेपाली नै होइनन् भन्दा त झन् अनौठो लाग्ला। पहिलो चोटी नेपाल आएकी उनी खासमा म्यानमारकी हुन्। 'बर्मा गए कर्मसँगै' भनेजस्तै नेपालबाट म्यानमार पुगेकाहरुले नेपाली भाषा, संस्कृति र परम्परामात्र उता पुर्याएनन्, सँगै लगे कुरीति र कुसंस्कार पनि। नन्दु अहिले तिनै कुसंस्कार विरुद्ध लड्दैछिन्। लडाइँका क्रममा उनी म्यानमारका नेपाली भाषीबीच व्याप्त कुरीतिको जरासम्म आइपुगेकी हुन्। अर्थात् नेपाल। यहाँको अवस्था देखेपछि उनलाई झन् टिठ लागेको छ। हामीसँगको भेटमा भनिन्, 'म्यानमारका महिलासँग नेपालका महिलाको तुलना गर्दा म निराश भएँ। '
महिलाहरु महिनावारी हुँदा छुवाछुत बार्नु म्यानमारका रैथानेका लागि अनौठो हो। तर त्यही मुलुकलाई थातथलो बनाएका नेपाली मूलका बर्मेली भने यसलाई परम्परा नै मान्दा रहेछन्। नन्दुले हामीलाई एउटा त्यस्तै घटना सुनाइन् जसले उनलाई सधैँ दु:खी बनाउँछ। प्रसंग सन् २०१० जनवरी १ को हो। सबै नयाँ वर्षको रौनकमा मस्त। नन्दु भने म्यानमारकै सान राज्यमा रहेको एउटा सानो गाउँ मानचाङको घरमा छट्पटाउँदै थिइन्। उनको मनमा दिउँसो आँखै अगाडिको घटना झल्झल्ती दोहोरिरहेको थियो।
नन्दु त्यसलाई घटना होइन, दुर्घटना भन्छिन्।
दिउँसोको समय थियो। उनी भुईंमा बसेर लुगा पट्याउँदै थिइन्। उनका बुबा बाली ज्ञवाली नजिकै बसेर गफिँदै थिए। बालीलाई असजिलो भएछ।
'छोरी मलाई रिङ्गटा लाग्यो,' उनले भने। त्यसपछि उनीहरु दुईको गफले अप्रत्याशित मोड लियो।
बाली अस्वस्थ थिए। हात खुट्टा र जिब्रो अस्वाभाविक दह्रो हुने र ढल्ने। रिङ्गटा लागेको भनेपछि उनले संकेत पाइन् र भनिन्, 'नउठ्नुस् बाबा, आराम गर्नुस्।'
सायद, बालीलाई आराम गर्न पनि अप्ठ्यारो भइसकेको थियो। जबरजस्ती उठे र टेबलमाथिको पानी पिउन खोजे। तर, उनको शरीर उल्टै टेबलतिर पो तानियो। क्षणभरमै ड्याङ्ग लडे। उनको टाउको ठोक्कियो।
त्यतिखेर १४ वर्षकी मात्र थिइन् नन्दु, न बुबालाई समाउन सकिन् न त उठाउन नै। आत्तिँदै आमालाई बोलाइन्। आमा भने तल नै बसेर रुन थालिन्। माथि उक्लिनन्। गाउँले गुहारिन्। अँह! पीडाले छट्पटाइ रहेका श्रीमानको छेउमा परिनन्। कारण थियो, रजस्वला।
महिनावारी हुँदा पतिलाई छुन हुन्न भन्ने अन्धविश्वास थियो नन्दुको आमामा। महिनावारी बार्नु नेपाली परम्परा जोगाउनु हो भन्ने विश्वास गर्थिन्। यो हिन्दु धर्म अपनाएका बर्मेली नेपालीबीच सामान्य कुरा हो।
नेपाली 'परम्परा' जोगाउन खोज्दा पति गुमाइन् नन्दुकी आमा नरमायाले। घटना भएकै दिन गाउँको अस्पताल भर्ना गरिएको थियो बालीलाई। त्यहाँ उपचार सम्भव भएन। अवस्था नाजुक थियो तर पनि सास रहुन्जेल आश, ल्याह्सो शहर पुर्याइयो उपचारका लागि।
बुबा ठीक होलान्। अस्पतालको शय्याबाटै आफूलाई फोन गर्लान् भन्ने आशामा अनिँदो पर्खिएकी थिइन् उनले। तर, खबर त महिनौंको निद्रा बिथोल्नेगरी पो आयो। उनका बुबा रहेनन्। बुबालाई अस्पताल पुर्याउन ढिला भइसकेको रहेछ। ढिला हुनुको कारण बन्यो आमाको महिनावारी।
महिनावारी बार्ने चलन नेपाली भाषीबाहेक कुनै पनि जातीय समूहमा देखेकी थिइनन् नन्दुले।
‘यस्तो चलन गलत हो भन्ने त मलाई पहिलादेखि नै लाग्थ्यो,' उनले भनिन्, 'तर सबैले अपनाएको कुरालाई मैले बेठीक भन्दा एक्लो पर्थेँ।'