प्रतिबन्धित चन्द समूहले पार्टीमा शुद्धीकरण अभियान चलाउने भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।
पछिल्लो समयमा सरकारले पेल्दै लगिरहेको अवस्थामा पार्टीभित्र भनेजस्तो काम नभएको भन्दै विप्लवले नयाँ ढंगबाट अघि बढ्न पार्टीको पोलिटब्यूरो समिति भंग गर्दै सबै जिम्मेवारी आफैं लिएका छन्।
मध्य नेपालको कुनै एक अज्ञात स्थलमा पार्टी स्थायी समिति बैठक बसेर उनले पोलिटब्यूरो र स्थायी समिति भंग गरेको स्रोतले जानकारी दियो।
केही दिनअघि बसेको स्थायी समितिको बैठकले ११ सदस्यीय पोलिटब्यूरो भंग गर्दै त्यसको अधिकार आफू मातहत ल्याएको विप्लव समूहका एक नेताले बिएल नेपालीलाई जानकारी दिए।
ती नेताका अनुसार पछिल्लो समयमा पार्टीका केही नेताहरू आफ्नै ढंगबाट चल्न थालेपछि बिप्लवले पोलिटब्यूरो भंग गरी सबै अधिकार आफ्नै मातहतमा लिएका हुन्।
‘पछिल्लो समयमा सरकारले पार्टीलाई पेल्दै लगेको अवस्थामा खटाएको ठाँउमा नजानेदेखि पार्टीको हितमा नचल्ने प्रवित्ति बढेको देखियो, त्यसैले सबै अधिकार आफैंमा राखेर पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने उद्देश्यले महासचिवले यस्तो कदम चाल्नु भएको हो’, ती नेताले भने।
स्रोतका अनुसार पार्टीका १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर फिल्डमा पठाएको छ। त्यसैगरी यसअघि स्थायी समिति सदस्यसमेत रहेका हेमन्त प्रकाश ओली, खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र सन्तोष बुढामगरलाई चन्दले आफ्नो सचिवालयमा ल्याएर काम अघि बढाउने भएका छन्।
यसअघिका पोलिटब्यूरो सदस्य भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई पोलिट ब्यूरोबाट हटाएर केन्द्रीय सदस्यमा राखिएको छ।
पुन सेति-महाकाली ब्यूरो प्रमुख हुन्।
पछिल्लो समयमा पार्टीका केही नेता र कार्यकर्ताबाटै पार्टीका भित्री कुरा बाहिर चुहिने गरेको भन्दै त्यसरी पार्टीका कुरा बाहिर लैजानेलाई कडा कारबाही गर्ने सो बैठकमा समेत छलफल भएको थियो।
चन्दले पार्टीभित्र विकृति मौलाएको भन्दै १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर ‘खुला मोर्चा’ मा पठाएका छन्।
‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई पद घटुवा गरेर कारबाही गरिएको हो,’ ती नेताले भने, ‘घटुवा गरे पनि खुला मोर्चामा जिम्मेवारी दिइएको छ ।’
पोलिटब्युरो सदस्यहरू भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ।
त्यसैगरी केन्द्रीय सदस्य रामप्रसाद तिमल्सिना, शंकर खडका, डीडी पाण्डे, भेषराज भुसाल, पुरुषोतम विष्ट, धनबहादुर महर्जन, डम्बर विश्वकर्मा, आजाद केसीलगायत १७ जनालाई केन्द्रीय सदस्यबाट हटाएको चन्द समूहका ती नेताले जानकारी दिए।
तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेवारी पूरा नगरेपछि हटाइएको छ। ‘अब नयाँ ढंगले चल्नुपर्छ भन्ने पार्टीको निष्कर्ष छ, केहीलाई कारबाही पनि हुन सक्छ,’ ती नेताले भने।
सरकारले प्रतिबन्ध लगाएको अवस्थामा इमानदार कार्यकर्ता आवश्यक रहेको उल्लेख गर्दै विप्लवले शुद्धीकरण अभियानबाट पार्टी झन् बलियो हुने दाबी गरेको ती नेताले बताए।